
पुष्पा ठाकुर, नारायणी लामिछाने र सानु माली (इमेज)
काठमाडौं, फागुन २७ । रगतको माग बढ्दै गएपनि रक्तदाताको संख्या नबढ्दा वर्सेनि रगतको अभाव हुने गरेको छ ।
युवा समुदायमा रक्तदानको महत्व बुझाउन नसक्दा विशेषगरी गर्मी मौसममा रगतको अभाव हुने गरेको छ ।
नेपालमा वर्सेनि तीन लाख २० हजार युनिटभन्दा बढी रगतको माग हुने गर्दछ । तर, मागअनुसारको रगत संकलन हुन नसक्दा बिरामीलाई समस्या पर्ने गरेको छ ।
नेपाल रेडक्रस सोसाइटीले ७२ जिल्लाका १०५ केन्द्रमार्फत् रगत वितरण गर्दै आएको छ ।
हरेक वर्ष चैत अन्तिमबाट असारसम्म रगतको अभाव हुने गरेको तर मागअनुसारको आपूर्ति हुन कठिन भएको सोसाइटीले जनाएको छ ।
गर्मीको समयमा पनि रगत दिन हुन्छ भन्ने चेतनाको अभाव, विद्यालय र क्याम्पस बन्द हुने गरेकाले पनि रगत अभाव हुँदै आएको हो ।
त्यस्तै, युवा जनशक्ति विदेश पलायन हुनु र यो मौसममा मानिसहरु खेतीपातीमा बढी सक्रिय हुँदा रक्तदानमा कमी आउने गरेको हो ।
उचित समयमा रक्तदान गर्दा कुनै समस्या नहुने र अर्को मानिसको जीवन बचाउनसमेत सहयोग पुग्ने भएकाले रक्तदान कार्यक्रमकाबारेमा जनचेतना बढाउनुपर्ने नियमित रक्तदान गरिरहेकाहरु बताउँछन् ।
चिकित्सकहरुकाअनुसार मानिसको रगतमा हुने राता रक्तकणको आयु १२० दिनको हुन्छ । त्यसपछि ती रक्तकण आफैं मरेर जाने हुँदा तीनदेखि ६ महिनाको फरकमा रक्तदान गर्दा नयाँ रक्तकोषिका बनेर मानव स्वास्थ्य अझ राम्रो हुन्छ ।
रक्तदान गर्ने मानिसको तौल ४५ केजीभन्दामाथि र हेमोग्लोबिन १२ ग्राम अथवा सोभन्दामाथि हुनुपर्छ ।
यतिमात्र होइन, रक्तदान गर्ने मानिसमा मुटु, फोक्सो, कलेजो राम्रो क्रियाशील अवस्थामा हुनुपर्ने चिकित्सकहरु बताउँछन् ।
जन्डिस, मलेरिया, टाइफाइड, एड्स, छारेरोग, क्षयरोग, मधुमेह, क्यान्सर, दम, उच्च रक्तचाप, मिर्गौलाको रोग, हेपाटाइटिसजस्ता रोगीले रक्तदान गर्न नहुने चिकित्सकहरुको भनाइ छ ।
स्वस्थ पुरुषले प्रत्येक तीन महिनामा र महिलाले महिनावारी नभएको, बच्चा पेटमा नभएको र बच्चाले दूध खाने अवस्थामाबाहेक वर्षको दुईपटक रक्तदान गर्नसक्ने चिकित्सकहरुको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्