३० बैशाख २०८२, मंगलबार | Wed May 14 2025


शरणार्थीहरुको दारुण चित्रः संसारभर ८ करोड मानिस बेघरबार, ४० प्रतिशत बालबालिका


0
Shares

काठमाडौं, असार ६ । संसारभर जबरजस्ती घरबार छाडेर शरणार्थी बन्नेको संख्या करिब ८ करोड रहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । त्यसमा ४० प्रतिशत त बालबालिका नै छन् ।

२० जुन मा संसारभर थातथलो छाडेर शरण लिन बाध्य पारिएका मासिहरुको सम्झनामा राष्ट्रसंघले विश्व शरणार्थी दिवस मनाउने गर्दछ । प्रत्येक मिनेटमा २० जना मानिस आफ्नो थातथलो छाड्न बाध्य हुने गरेको राष्ट्रसंघले जनाएको छ ।

युद्ध, हिंसा, जबरजस्त विस्थापन जस्ता कारणले विश्वका ७ करोड ९५ लाख मानिस सडकमा पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ । संसारको कूल जनसंख्याको एक प्रतिशत मानिस शरणार्थी बन्न बाध्य भएका हुन् ।

यस वर्ष अझै संसारभर थपिएको कारोना भाइरस महामारीको चपेटमा सबैभन्दा बढी घरबार गुमाएर बिरानो भूमि, शहर र स्थानमा पुगेकाहरु प्रभावित बनेका छन् ।

शरणार्थीका लागि संयुक्त राष्ट्रसंघीय उच्चायोगले सन् २०१९ को अन्त्यसम्ममा ७ करोड ९५ लाख मानिस शरणार्थी रहेका र त्यसमा अधिकांश विकासोन्मुख मुलुकका बासिन्दा रहेको जनाएको छ । शरण दिनेमा पनि ८० प्रतिशत मुलुक विकासोन्मुख नै छन् ।

साढे चार करोड मानिस आन्तरिक विस्थापन ब्यहोरिरहेका छन् भने ४२ लाख मानिस शरणका लागि लाइनमा छन् । ६६ लाखभन्दा बढी सिरियन छन् भने करिब ११ लाख रोहिन्ग्या छन् । भेनेजुयलाका मात्र ३७ लाख मानिस देश बाहिर शरणमा छन् ।

थातथलो गुमाउनेमा ६८ प्रतिशत व्यक्ति पाँच देशका मात्रै छन् । सबैभन्दा बढी सिरियाका ६६ लाख, भेनेजुयलाको ३७ लाख, अफगानिस्तानको २७ लाख, दक्षिणी सुडानको २२ लाख तथा म्यानमारको रोहिंग्या ११ लाख शरणार्थी रहेको राष्ट्रसंघले जनाएको छ ।

७३ प्रतिशतलाई छिमेकी मुलुकले नै शरण दिएका छन् । शरण दिनेमा सबैभन्दा बढी टर्कीले ३६ लाख, कोलम्बियाले १८ लाख, पाकिस्तानले १४ लाख, युगाण्डाले १४ लाख, जर्मनीले ११ लाख छन् । शरण दिने ८० प्रतिशत मुलुक आफै कि त खाद्य असुरक्षाको चपेटमा छन् कि त कुपोषण जस्ता समस्याबाट जुधिरहेका छन् ।