अत्याधिक गर्मीका कारण ७ विद्यार्थी बेहोस, आइतबारसम्मका लागि विद्यालय बन्द • Image Khabar Image Khabar


अत्याधिक गर्मीका कारण ७ विद्यार्थी बेहोस, आइतबारसम्मका लागि विद्यालय बन्द


Imagekhabar
२९ जेष्ठ २०७५, मंगलवार ०१:०३

अत्याधिक गर्मीका कारण ७ विद्यार्थी बेहोस, आइतबारसम्मका लागि विद्यालय बन्द

बासुदेव बर्मा

कपिलबस्तु, जेठ २९ । कपिलबस्तुमा अत्याधिक गर्मीका कारण मायादेवी गाउँपालिका १, पकडीस्थित छत्रपाली तिर्थादेवी माविमा अध्ययनरत ७ विद्यार्थी बेहोस भएका छन् ।

गर्मी बढ्दै गएपछि विद्यार्थी बस्ने विद्यालयको टिनको भवन तात्दा सोमबार विद्यार्थी निस्सासिएर बेहोस भएको विद्यालयका प्रधानाध्यापक नरेन्द्र बहादुर कुर्मीले बताए ।

अत्यधिक गर्मीका कारण मंगलबारदेखि जिल्लाका सम्पुर्ण विद्यालय बन्द गरिएका छन् । विद्यालय आगामी आईतबारदेखि खुल्ने जनाइएको छ ।

बढ्दो गर्मीका कारण विद्यार्थीहरुको न्यून उपस्थिति तथा विभिन्न रोगका संक्रमण देखिन थालेपछि विद्यालयहरु बन्द गरिएका हुन् । 

सरकारी तथा निजी/संस्थागत विद्यालयहरुले ६ दिनका लागि विद्यालय बन्द गरिएको जिल्ला प्रशासन कार्यालय अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाइ कपिलबस्तुले जनाएको छ । केही दिन यता अत्यधिक गर्मी बढेपछि कक्षा कोठामा पढाउन समस्या आएपछि नगर तथा गाउपालिकाले आफ्नो मातहतमा रहेको विद्यालय आगामी आईतबारसम्म बन्द गरिएको जनाइएको छ ।

अत्यधिक गर्मीले कपिलवस्तुको जनजीवन प्रभावित भएको छ । गर्मीले मजदुर, कृषक, विद्यार्थी तथा वृद्धवृद्धा बढि प्रभावित भएका छन् । प्रचण्ड गर्मीले गर्दा सर्वसाधारणहरु घर बाहिर निस्कनै छाडेका छन् ।

जल तथा मौसम मापन विज्ञान विभागको कपिलवस्तु ईकाई रामनगरका रामु रेग्मीका अनुसार जिल्लाको साता यताको अधिकतम तापक्रम ४२ देखि ४४ डिग्री सेल्सियससम्म पुगेको छ ।

गर्मीले गर्दा सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप घटेको छ । निकै भीडभाड हुने मालपोत, बिद्युत, प्रशासन लगायतका कार्यालयमा सेवाग्राहीको संख्या पहिलाको तुलनामा कम छ ।

दैनिक ज्यादा मजदुरी गरी परिवारको गुजारा चलाउदै  आएका मजदुरहरु समस्यामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्