Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


नारायणगढका सुविधा सम्पन्न मानिएका होटलले मापदण्ड पुरा गरेनन्


0
Shares

चितवन । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले चितवनको नारायणगढका केही सुविधा सम्पन्न मानिएका होटलका सञ्चालकहरूलाई तीन दिनभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

नारायणगढस्थित सेन्ट्रल पाम, होटल रेड कार्पेट र होटल ग्लोबल प्रालिका सञ्चालकलाई तीन दिनभित्र उपस्थित हुन विभागले निर्देशन दिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवन, जिल्ला प्रशासन कार्यालय चितवन, प्रहरी तथा पत्रकारसहितको टोलीले अनुगमन गर्ने क्रममा ती होटलले सामान्य मापदण्डसमेत पूरा गरेको नदेखिएपछि विभागमा बोलाइएको हो ।

विभागले तोकेको समयभित्र उपस्थित नभए तीनवटै होटल बन्द गर्ने चेतावनी दिएको छ ।

तीन दिनभित्र उपस्थित नभए खाद्य ऐन २०२३ को नियमावली २०२७ बमोजिम कारवाही गरिने विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बताए ।

नाम चलेका होटलले सामान्य कुरामा समेत ध्यान नदिनु उपभोक्तामाथिको चरम लापरवाही भएको सुवेदीको भनाइ छ ।

उपभोक्ता पनि सचेत हुनुपर्नेे भन्दै उनले सबैभन्दा धेरै खाने तेलमा लापरवाही गरेको जानकारी दिए ।

सबै होटलले अखाद्य तेलको प्रयोग गरेको, भान्छामा काम गर्ने कर्मचारीमा व्यक्तिगत सरसफाइको कमी, खाद्य सुरक्षामा ध्यान नदिएको देखिएको पनि खाद्य अनुसन्धान अधिकृत सुवेदीले बताए ।

चितवनमै पहिलोपटक घुम्ती खाद्य प्रयोगशालासमेतलाई लिएर अनुगमन गरिएको हो ।

यसअघि शनिबार राति मुग्लिनका ४५ वटा होटलमा अनुगमन गर्दा ७ वटामा अखाद्य तेलको अधिक प्रयोग गरेको पाइएपछि तीनदिनभित्र खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनमा उपस्थित हुन निर्देशन दिइएको बताइएको छ ।

उपभोक्तामाथि चरम लापरवाही गरेको पाइएमा ६ महिना कैद वा पाँच लाख रूपैयाँसम्मको जरिवाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।