
विश्व सम्पदा पाटन दरवारको मूल चोकमा आयोजना गरिएको ४ दिने प्राङ्गारिक कृषि मेलामा सहभागी किसानहरुले अर्गानिक खेतीको विकास गर्न सरकारले प्रविधि विस्तार तथा सहुलियतपूर्ण ऋणको ब्यवस्था समेत गरिदिनुपर्ने बताए ।
कञ्जनजंघा टि स्टेट एण्ड रिसर्च सेन्टर, के–टि फाउण्डेशनले प्राङ्गारिक खेती गरिरहेका कृषकहरुलाई भेला गराउने उद्देश्यले मेला आयोजना गरेको हो ।
यो मेलाले स्वदेशी अर्गानिक उत्पादनको बजार सृजना र बिस्तार गर्ने फाउण्डेशनले दावी गरेको छ ।
प्रदर्शनीमा अर्गानिक चिया, कफि, भुइंस्याउ, किवि, अलैंची, अर्गानिक मल, फलफूल, तरकारी लगायतका ५० स्टलहरु रहेको छ भने स्वदेशी कच्चा सामग्रीबाट निर्मित टोपी, लुगा, ब्याग लगायतका सामग्रीहरु पनि राखिएका छन् ।
ललितपुर, पाँचथर, इलाम, ताप्लेजुङ, म्याग्दी, जुम्ला लगायतका जिल्लाका कृषकहरुको सहभागिता रहेको छ उक्त प्रदर्शनीमा स्थानीय कृषकहरुले भने दैनिक ताजा अर्गानिक तरकारी समेत ल्याइ विक्री गरेका छन् ।
सांसद चन्द्र महर्जनको प्रमुख आतिथ्यमा भएको प्राङ्गारिक कृषि मेला समापन समारोहमा उत्कृष्ट तीन संस्था शुभलाभ बहुउद्देश्यीय सहकारी संस्था, द पम्पकिङ ग्रोसर तथा गुफा तुम्की फार्मलाई पुरस्कृत गरिएको थियो भने सहभागी प्रदर्शनकर्ता कृषकहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । गत शुक्रबार सुरु भएको मेला सोमबार सम्पन्न भएको हो ।
प्रतिक्रिया दिनुहोस्