Logo १८ बैशाख २०८३, शुक्रबार | Fri May 1 2026


एकैपटक होचोबाट अग्लो स्थानसम्म यात्रा गर्दा खतरा


0
Shares

पछिल्लो समय स्वदेशी तथा विदेशी पाहुना मनाङ, मुस्ताङ, सोलुखुम्बुलगायत जिल्लामा कम उचाइको क्षेत्रबाट बढी उचाईको क्षेत्रमा जाँदा लेक लाग्ने समस्याले बिरामी परेका छन् ।

हिमालय उद्धार सङ्घले सन् २०१६ मा लेक लागेका दुई हजार ७०० व्यक्तिलाई स्वास्थ्य सेवा प्रदान गरेको छ भने झन्डै चार हजार जनालाई हाई अल्टिच्युडसम्बन्धी जनचेतना प्रदान गरेको छ ।

सङ्घले स्वदेशी तथा विदेशी पर्यटक एकैपटक कम उचाइ भएको स्थानबाट उच्च स्थानमा जाँदा लेक लाग्ने र बिरामी पर्ने गरेकाले स्वास्थ्य सेवा प्रदान गरेको हो ।

सङ्घका अध्यक्ष देवीबहादुर कोइरालाले पछिल्लो समय मनाङको खाङसारसम्म मोटरबाटो पुगेको र एकै दिनमा काठमाडौँदेखि मनाङसम्मको यात्रा गर्दा धेरै स्वदेशी तथा विदेशी पर्यटक बिरामी हुने गरेको बताए ।

उनले भने, “दैनिक ५०० मिटर उचाइसम्म मात्र यात्रा गर्नुपर्छ तर एकहजार ४०० मिटर उचाइमा रहेको काठमाडौँदेखि तीन हजार ८०० मिटर उचाइमा रहेको मनाङको खाङसारसम्म पुग्दा अधिकांश पर्यटक बिरामी भएका छन् ।”

धेरै मानिस बिरामी भएपछि सङ्घले मनाङमा होटल, रेस्टुराँ सञ्चालन गर्ने २२ जनालाई लेक लाग्दा कसरी मानिसलाई जोगाउने भन्नेबारेमा सोमबार तालिम प्रदान गरेको छ ।

सो तालिममा आन्तरिक पर्यटकलाई कसरी सुरक्षित गन्तव्यसम्म पु¥याउने भन्नेबारेमा सिकाइएको हो ।

सङ्घले हाल मनाङ, एभरेस्ट बेसक्याम्प र सोलुखुम्बुको फेरुचेमा हाइ अल्टिच्युडबाट बिरामी भएका मानिसलाई सेवा प्रदान गरेको छ भने गोसाइँकुण्डमा जनैपूर्णिमाको अवसरमा स्वास्थ्यसेवा प्रदान गर्ने गरेको छ । रासस