-रबिन भट्टराई, ईमेज
भूकम्पले ठूलो धनजनको क्षति गरेको थियो । भूकम्प गएको पाँच वर्ष पूरा भइसक्दा पनि प्रभावितहरुले अझैसम्म राहत पाउन सकेका छैनन् ।
ताप्लेजुङमा २०६८ असोज १ गते गएको भूकम्पबाट प्रभावित बनेकाहरुलाई सरकारले अझैसम्म ऋण सहयोग गरेको छैन ।
सोही वर्षको चैत १६ गतेको मन्त्रिपरिषद् बैठकले तह निर्धारण गरी सहयोगको निर्णय गरे पनि सहयोग ऋण उपलब्ध नगराउँदा घर बनाउन नसक्ने दुई दर्जनभन्दा बढी परिवार अझै भत्किएको घरमा बस्न बाध्य छन् ।
केन्द्रीय दैवीप्रकोप उद्धार समितिबाट गठित कार्यदलको सिफारिसका आधारमा पूर्ण क्षति भएकालाई १ लाख, आंशिकलाई ५० हजार ऋण बापत र अति विपन्नका लागि १० हजार अनुदान दिने निर्णय गरिएको थियो ।
तर सो निर्णय अझै कार्यान्वयन भएको छैन । सरकारले निर्णय गरेदेखिनै आशा गरे पनि अझै नपाउँदा आफूहरु भत्किएको घरमा जोखिमपूर्ण रुपमा बस्न बाध्य भएको ताप्लेजुङ नगरपालिका–८ ल्याङ्वाका भूकम्प प्रभावित भक्त तामाङ बताउँछन् ।
२०६८ सालपछिका प्राकृतिक विपत्तिमा पर्नेहरुलाई सरकारले विभिन्न राहतका प्याकेज ल्याए पनि त्यो भूकम्पबाट प्रभावित भएकाहरुलाई भने बेवास्ता गर्दै आएको छ ।
भूकम्पले क्षतिग्रस्त बनाएको घर बनाउन नसक्दा यस क्षेत्रका केही भूकम्प पीडित अझै पनि टाटिले बनाएका स–साना टहरा र भत्किएकै घरका बसिरहेका छन् ।
लामो समयसम्म घर बनाउन नसकेका र टालटुल पारेर जसोतसो गुजारा गरिरहेकाहरु अझै पनि सहयोग पाइन्छ कि भन्ने आशामा छन् ।
ताप्लेजुङका स्थानीय विकास अधिकारी राजेश गौतमले भने सरकारले तथ्यांक मागेको र जिल्लाबाट पठाएको भए पनि सहयोग दिने अख्तियारी अझै नआएको बताए ।










प्रतिक्रिया दिनुहोस्