-युवराज गौतम/ईमेज
काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षका रुपमा घोषण गरेर फितलो तयारी गरिरहे पनि विदेशमा रहेका नेपालीहरुले भने उत्साहका साथ प्रचार गरिरहेका छन् ।
विगतको सरकारले बिनातयारी सन् २०१८ लाई भ्रमणवर्ष मनाउने भनेता पनि तयारी नपुग्ने भएपछि सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरिसकेको छ ।
तर नेपालमा भ्रमण बर्षको तयारी उत्साहजनक छैन । केही साता अघि पर्यटनमन्त्री रवीन्द अधिकारीको निधन भएपछि तयारी फेरि सुस्ताएको छ । सरकारले नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन मन्त्री अधिकारीकै अध्यक्षतामा मूल आयोजक समिति गठन गरेको थियो ।
त्यतिमात्र नभइ नेपाल भ्रमण बर्ष मनाउनका लागि संयोजकका जिम्मेवारी पाएका व्यवसायी सुरज वैद्यको नियुक्तीप्रति केही पर्यटन व्यवसायीहरुले असन्तुष्टी जनाएपछि अर्को समस्या निम्तिएको छ ।
यद्यपी, प्रवासी नेपालीका संघ संस्था तथा गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भने भ्रमण बर्षको अभियानलाई ब्यापक बनाएको छ ।
काठमाडौंमा हालैको एक कार्यक्रममा एनआरएनएका अध्यक्ष भवन भट्टले अभियान सुरु भइसकेको जानकारी दिंदै, ‘हरेक गैरआवासीय नेपालीबाट तीनजना साथीलाई नेपाल घुम्न पठाउने’ कार्य पनि अघि बढेको बताए ।
एनआरएनएको संजाल करिब ८० मुलुकमा फैलिएकाले ती देशमा रहेका नेपालीले अरु तीन जना ब्यक्तिाई नेपाल पठाउन सके भने भ्रमण बर्ष सफल हुने पनि अध्यक्ष भट्टले बताए ।
एनआरएनएले नमस्ते, अतिथि देवो भवः लगायतका अभियानलाई निरन्तरता दिने, डायस्पोरा मार्फत् नेपालको सांस्कृतिक, धार्मिक, साहसिक एवं पर्यटन प्रवद्र्धन गर्ने योजना पनि अघि सारेको छ ।
के-के हुँदैछ विदेशमा
एनआरएनएलगायतका विदेश स्थित कुटनितिक नियोग, नेपाली संघ संस्थाहरुले विदेशमा थुप्रै प्रवद्र्धनात्मक कार्यक्रमहरुको तयारी गरिरहेका छन् ।
फोटो प्रदर्शनी, नेपाल रोड सो, नेपाली खानाको प्रवद्र्धन, खेलकुद प्रतियोगिता साथै यसबर्ष बुद्ध नेपाल, एभरेष्ट डे, नेपाल फेस्टिभललगायतका कार्यक्रमहरु आयोजना हुँदैछन् । त्यसबाहेक अनलाइन सेल्स मिसन, अन्य प्रवद्र्धनात्मक कार्यक्रमहरुको तयारी भइरहेको छ ।
नेपालमा बेग्लै तयारी
हुनत नेपालमा पनि भ्रमण बर्षको तयारी भइरहेको छ । काठमाडौं भन्दा पनि देशभरका चर्चित पर्यटकीय स्थलहरुमा विभिन्न कार्यक्रमहरुको तयारी भइरहेको छ । पूर्वाधार विकासको अभाव खेपिरहेको नेपालमा पर्यटन बोर्डले आफ्नै किसिमले २० लाख पर्यटक भित्र्याउने तयारी गरिरहेको छ ।
अन्तराष्ट्रिय संचारमाध्यमका प्रतिनिधिलाई नेपाल घुमाएर नेपालको बारेमा जानकारी दिने, विभिन्न मुलुकका ट्राभल ट्रेडहरुमा सहभागी भइ प्रचार गर्ने साथै इन्टरनेटको सहायतामार्फत विश्वभर प्रचार गर्ने काम सुरु भइसकेको नेपाल पर्यटन बोर्डले जानकारी दिएको छ ।
पोखरा, लुम्बिनी, रारा, काठमाडौं, चितवनलगायतका चर्चित पर्यटकीय स्थलहरुमा भिन्न किसिमले भ्रमण बर्ष मनाउने तयारी भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्