२१ मंसिर २०८१, शुक्रबार | Fri Dec 6 2024


गुणस्तरहीन दैनिक उपभोग्य वस्तुका कारण उपभोक्ता ठगिदै


0
Shares

बर्दिया, असार २२ । म्याद नाघेका गुणस्तरहीन दैनिक उपभोग्य वस्तु तथा औषधिका कारण उपभोक्ता ठगिने क्रम बढेको भन्दै बर्दियाका सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

उपभोक्ता हित संरक्षण तथा बजार अनुगमनका बारेमा जानकारी दिने उद्देश्यले जिल्ला प्रशासन कार्यालय बर्दियाले आयोजना गरेको कार्यक्रममा उनीहरुले बजार अनुगमन गाउँ केन्द्रित गर्न माग गरेका हुन् ।

खुल्ला सिमानाका कारण खुद्रा व्यापारीमार्फत आउने अखाद्य वस्तुहरुको नियन्त्रणमा कडा कदम चाल्नु पर्ने भन्दै कपडा तथा कस्मेटिक पसलको समेत अनुगमन गर्न जोड दिइएको छ । शैक्षिक संस्था वरिपरिको १ सय मिटरमा विक्रीवितरण गर्न नपाईने गुट्खा तथा सुर्तीजन्य पदार्थको खुलेयाम कारोबार भए पनि त्यसलाई रोक्न प्रशासनले कदम नचालेको सहभागीहरुको आरोप छ ।

नापतौल तथा गुणस्तर विभाग, क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बाँके तथा औषधि व्यवस्था विभागका पदाधिकारीहरुले आ—आफ्नो संस्थाको तर्फबाट कार्यपत्र प्रस्तुत गरेका थिए । पछिल्लो समय अनुगमनलाई तिव्रता दिएको प्रशासनले सुनमा धातु मिसावट गरि ठगी गरिरहेका १२ जना व्यवसायीलाई पक्राउ गरेर मुद्दा चलाइएको छ ।