केशव भण्डारी
बुटवल, असार २२ । वर्षायामसँगै सिद्धार्थ राजमार्गअन्तर्गत बुटबल–पाल्पाखण्डको सिद्धबाबा क्षेत्रमा पहिरोको जोखिम बढ्दै गएको छ ।
अति दुर्घटनाग्रस्त सिद्धबाबामा जोखिम बढे पनि जोखिम न्यूनीकरणमा ठोस पहल भने हुन सकेको छैन ।
पटक पटक खस्ने डरलाग्दा पहिरोले धेरैको ज्यान लिएको कारण उक्त क्षेत्रमा यात्रा गर्दा धेरैको आङै सिरिङ्ग हुने गर्दछ । प्राकृतिक विपत्तिलाई रोक्न नसकिए पनि त्यसबाट सुरक्षित बन्न त सकिन्छ तर यस क्षेत्रको जोेखिमबारे धेरै परिचित भए पनि वर्षेनी ज्यान जाने क्रम रोकिएको छैन ।
यस सडकलाई दीर्घकालीन रुपमा सुरक्षित बनाउने ठोस काम भएको छैन ।
त्यसो त चुनावी माहोलमा उम्मेदवारबाट यस क्षेत्रलाई सुरक्षित बनाउने प्रतिबद्धता र आश्वासन नआएका होइनन् तर धेरै चुनाव सकिए, धेरै प्रतिनिधि चुनिए, यहाँको समस्या यथावत् छ । जोखिम ज्यूँका त्यूँ छ र त, ती आश्वासन सबै झुटो साबित भएका छन् । जिम्मेवार र सरोकारवाला पक्ष संवेदनाहीनजस्तै बनेको धेरैलाई आभास भइरहेको छ ।
विगत १० वर्षको तथ्यांक हेर्ने हो भने सिद्धबाबा क्षेत्रको पहिरोले ५० भन्दा बढी सवारी दुर्घटनामा ६७ जनाले ज्यान गुमाएका छन् । सिद्धबाबादेखि दोभानसम्मको अक्करेभिरमा वर्षायाममा ज्यादा पहिरो खस्ने भए पनि हिउँदको समयमा खस्ने सुख्खा पहिरोको समेत जोखिम उत्तिकै छ । त्यसकारण पनि सिद्धार्थ राजमार्गको यस खण्डलाई ‘मृत्युमार्ग’ भन्ने गरिन्छ ।
यति हुँदाहुँदै पनि अहिलेसम्म सडक सुरक्षित बनाउने र विकल्प दिने काम भएको छैन ।
जोखिमपूर्ण क्षेत्र भइकन पनि यस क्षेत्रमा सरोकारवाला पक्षको गम्भीरता पूर्वक ध्यान जान नसकेको स्पष्ट छ । राज्यका तर्फबाट वर्षेनी करोडौँको बजेट खर्चे पनि यो क्षेत्र दीर्घकालीन रुपमा सुरक्षित हुन सकेको छैन । यस सडकखण्डको विकल्पमा मन्त्रीदेखि विज्ञसम्मका योजना बेलाबेलामा आए पनि ठोस काम हुन सकेको छैन ।
सिद्धबाबाको यो डरलाग्दो सडकबाहेक तीनवटा वैकल्पिक बाटोमा रूपन्देहीको खैरेनीबाट गोठादी, झडेवा हुँदै पाल्पाको बाँसटारी जोड्ने सडक, बुटवलबाट पश्चिमदेखि शान्तिचोक हुँदैै पाल्पाको झुम्सा निस्कने सडक र चरङ्गेबाट ज्यामिरे हुँदै झुम्सा जोड्ने सडक विकल्पको रुपमा सर्वे समेत भइसकेका हुन् तर यी विकल्प सबै लामा दुरीका हुन् ।
पहिरोग्रस्त क्षेत्रका कारण अनाहकमा धेरैको ज्यान गएको यथार्थलाई महसुस गरी उपयुक्त विकल्पका साथ नयाँ काम सुरु गरे धेरैलाई सहज हुने थियो ।
प्रतिक्रिया दिनुहोस्