Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


साढे ४ किलोमिटर सडक निर्माणको काम दुई वर्षसम्म पनि पूरा भएन


0
Shares

चितवन, फागुन २४ । चितवनको भरतपुरस्थित बाइपास सडक निर्माणको काममा ढिलाइ भएको छ ।

साढे ४ किलोमिटर सडक निर्माणको काम दुई वर्षसम्म पनि पूरा भएको छैन । अहिलेसम्म यो सडकको काम ३० प्रतिशतमात्र सम्पन्न भएको छ ।

भरतपुरको केन्द्रीय बस टर्मिनल चोकदेखि आँपटारीसम्मको जम्मा साढे चार किलोमिटर सडक निर्माण गर्न २०७३ साल पुस १९ गते नै गौरी पार्वती निर्माण सेवा प्रालिले ठेक्का पाएको थियो । ठेक्का पाएको एक महिनाभित्रै काम सुरू गरे पनि हालसम्म उक्त कामले पूर्णता पाउन सकेको छैन ।

ठेकेदारले २०७४ चैत १८ गतेसम्ममा काम सक्ने गरी ठेक्का सम्झौता गरेको थियो । डिभिजन सडक कार्यालय भरतपुरले भने विद्युत् र वनका कारण काममा ढिलाइ भएको जनाएको छ । अहिले विद्युतको पोल सार्ने र सडक छेउमा पर्ने रूख काट्ने काम भइरहेकाले अब भने काम तीव्र गतिमा हुने कार्यालयका इञ्जिनियर नारायणप्रसाद लामिछानेले जानकारी दिए ।

तर, साढे चार किलोमिटरको सडकमा पनि चालू आर्थिक वर्षभित्रमा जम्मा दुई किलोमिटरसम्म मात्रै काम पूरा हुने लामिछानेको भनाइ छ । बजेट अभावले गर्दा बाँकी काम आउँदो आर्थिक वर्षको बजेट आएपछि मात्रै हुने बताइएको छ ।

१३ करोड ४५ लाख ८२ हजार ७९१ रूपैयाँमा बन्न लागेको सडकको चौडाई दायाँबायाँ ढलसहित २४ मिटर फराकिलो हुनेछ ।