
सुस्तामा बसोबास गर्ने नेपाली समुदायसँग आफ्नो जग्गाको जग्गाधनी पुर्जा त छ तर उनीहरुका साथमा अहिले जमिन भने छैन ।
विकासको दृष्टिकोणले निकै पछिपरेको नवलपरासीको त्रिवेणी–सुस्ता गाविस–४ मा अवस्थित सुस्ता एउटा गाउँ हो । सुस्तामा जान अहिले पनि नारायणी नदीमा झोलुंगेपुल छैन ।
प्राथमिक तहपछिको अध्ययनका लागि विद्यालय, राम्रो स्वास्थ्य उपचार सेवा, बिजुली–बत्तीलगायतका यहाँको समस्या जहाँको त्यहीँ छ ।
विशेषगरी नारायणी नदीमा झेलुंगेपुल नहुँदा सुस्ताको चौतर्फी विकास अवरुद्धजस्तै भएको छ । झोलुंगेपुल नहुँदा आफ्नो दैनिक उपभोग्य सामान खरिद गर्नका लागि नजिकको भारतीय बजारको भरपर्नु सुस्तावासीको ठूलो बाध्यता हो ।
त्रिवेणी बजारमा अवस्थित त्रिवेणी–सुस्ता गाविसको कार्यालय आउन भारतीय बाटो हुँदै कम्तीमा पनि दुई घन्टा र नेपाली बाटो अथवा नारायणी नदीमा डुंगाको प्रयोग गरी आउन कम्तीमा चार घन्टाभन्दा बढी समय खर्चिनुपर्ने अवस्था भोग्न बाध्य छन् सुस्तावासी ।
सुस्तावासीको मुख्य पीडामध्येको एक हो जग्गा प्राप्ति । सुस्तास्थित नेपाल–भारत सीमा क्षेत्रका धेरै नेपालीको हातमा आफ्नो जग्गाको लालपुर्जा त छ तर उनीहरुको साथमा जग्गा भने छैन ।
सिमाना भएका कारण सुस्ताका ओमप्रकाश चौधरीले आफ्नै देशको भूगोलबाट अढाइ बिघा जमिन छाड्नुपरेको छ ।
वि.सं. २०६२ जेठ १७ गतेभन्दाअगाडि उनको लालपुर्जामा साढे तीन बिघा जग्गा थियो । उनले २०२९ साउन ९ गते तत्कालीन सरकारबाट यो लालपुर्जा पाएका थिए । तर, अहिले उनको अढाइ बिघा जमिन उनीसँग त छैन नै र यो देशभित्रै पनि रहेन । कागजी खोस्टो लिएर उनी चित्त बुझाउन बाध्य छन् ।
त्यस्तै, सुस्ताका रामचन्द्र साहको समस्या पनि उस्तै हो । तत्कालीन अवस्थामा नागरिकता नभएका कारण सरकारले उनलाई जग्गाको फिल्ड बुक दिएको थियो । उनको यो प्रमाणमा पाँच बिघा जग्गा छ । तर, अहिले त्यो नेपालमा पर्दैन ।
त्यस्तै, कागजी जग्गा हुने अर्का नेपाली हुन् अरन्जेव खाँ । स्थानीय शिक्षकसमेत रहेका खाँ र उनको परिवारको नाममा २० बिघा जमिन भएको प्रमाण हो यो । तर, अहिले उनको वास्तविक जग्गा पुग/अपुग पाँच बिघामा सीमित भएको छ । उनले पनि २०२९ साउन ९ गते यो फिल्ड बुक पाएका थिए ।
त्यस्तै, जग्गा गुमाउने अर्का नागरिक हुन् मदुरी भर । उनको ६ बिघा जमिन थियो । तर, आज यो भूमि उनीसँग छैन । उनले करिब चार बिघा जमिन गुमाएका छन् ।
जग्गाको प्रमाण भएर पनि यहाँका बासिन्दाले जग्गाको जोतभोग गर्न नपाएको सुस्तावासी हरिजुल्ला अन्सारीको भनाइ छ ।
उनीसँग पनि साढे चार बिघाभन्दा बढी जमिन थियो तर अहिले त्यो भारतीय अतिक्रमणको चपेटामा परेको छ ।
प्रमाण भएर पनि डेढ बिघा जमिन गुमाएका मन्टु मुसहरले आफ्नो गुमेको भूभाग देखाउँदै भने–‘केही गर्ने हाम्रो सरकार काठमाडौंमा छ । सुस्ताको पीडा काठमाडौंलाई कहाँ थाहा हुन्छ र ?’
प्रमाण भएर पनि श्याम नन्दनले दुई बिघा तीन धुर जमिन गुमाएका छन् । पहिले नेपालमा रहेको आफ्नो जग्गा देखाउँदै उनी भन्छन्–‘भारतीय पक्षले अतिक्रमण गरी हाम्रो जग्गा खोस्यो ।’
जमिनको फिल्ड बुक भएका अर्का नेपाली असिर खाँको समस्या पनि अरूकोभन्दा फरक छैन । उनको ६ बिघामध्ये अहिले करिब दुई बिघामात्रै बाँकी छ ।
मन्सिकुमार हरिजनको ६ बिघा जमिनमध्ये १० कट्ठामात्रै अब बाँकी छ । केहीको लालपुर्जा छ भने केहीको फिल्ड बुक छ । तर, उनीहरुसँग जमिन छैन । २०२९ साल साउन ९ गते तत्कालीन सरकारले उनीहरुलाई जग्गाको प्रमाणपत्र दिएको थियो ।
वि.संं २०२९ सालदेखि निरन्तर जोतभोग गर्दै आएका उनीहरुले २०६२ जेठ १७ गते प्रमाण भएका यी जग्गा गुमाएका हुन् । उनीहरुजस्ता पाँच सय ५६ नागरिकसँग जग्गाको लालपुर्जामात्रै छ । उनीहरुका जग्गा पूरै वा खन्डित भएर भारततिर परिसकेको छ ।
सुस्तामा भारतीय पक्षबाट पटक–पटक गरी करिब १४ हजार हेक्टरभन्दा बढी नेपाली भूभाग अतिक्रमण भइसकेको सुस्तावासी बताउँछन् । अहिले एकातर्फ सिमलको रूख र अर्कातर्फ बाटोले नेपाली सीमा छुट्याइएको छ ।
वि.सं. २०६२ जेठ १७ गते अतिक्रमण गरी भारतीय पक्षले आफ्नो बनाएको बताउने उनीहरुले मिचिएको भूभाग फिर्ता गराउन कहीँ–कतैबाट पहल नभएको चर्को गुनासो गर्दै आएका छन् ।
लालपुर्जा भएका पाँच सय ५६ परिवारमध्ये अधिकांशलाई सरकारले अन्यत्र बसोबास गराइसकेको छ ।
विस्थापितहरुलाई वि.सं. २०३६ सालमा अहिलेको त्रिवेणी–सुस्ता गाविसको वडा नम्बर–३, ७ र ८ मा पुनःस्थापना गराइएको त्रिवेणी सुस्ताका आरपी उपाध्यायले बताए ।
तर, केही लालपुर्जा र फिल्ड बुक भएका नागरिक अझै सुस्तामा गुमेको आफ्नो भूभाग फिर्ता गराउन सुस्ता बचाउ अभियान सन्चालन गरिरहेका छन् । सीमास्तम्भ रहेका ठाउँ यकिन गर्न नसक्दा भूमि छुट्याउन गाह्रो भइरहेको छ ।
लालपुर्जा भएको नेपाली भूमि फिर्ता गराउन दुई देशबीच उच्चस्तरमा पहल हुन जरुरी देखिएको अभियानका अध्यक्ष गोपाल गुरुङ बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्