६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


ग्यास आक्रमणका मुख्य योजनाकारसहित ७ जनालाई जापानमा मृत्युदण्ड


39
Shares

टोकियो, असार २२ । सन् १९९५ मा टोकियो सहरको सव–वेमा घातक सरिन ग्यास आक्रमणका मुख्य योजनाकारसहित ७ जनालाई जापानमा मृत्युदण्ड दिइएको छ ।

रासायनिक ग्यास आक्रमणको मुख्य योजनाकार कथित धार्मिक समूह ओम सिरन्क्योका नेता सोको आसहरासहित ७ जनालाई टोकियोको हिरासतमा आज बिहान मृत्युदण्ड दिइएको हो । उनीहरुले सन् १९९५ को मार्च २० मा स्नायु प्रणालीमा असर पुर्‍याउने सरिन नामक ग्याँसले टोकियो सव–वेमा हमला गरेका थिए ।

जापानको अहिलेसम्मकै ठूलो हिंसात्मक घटना मानिने सो काण्डमा १३ जनाको मृत्यु भएको थियो भने हजारौं व्यक्ति प्रभावित भएका थिए । सरिन ग्यास आक्रमणका ६ जना दोषीले अझै मृत्युदण्डको मिति कुरिरहेका छन् ।

उनीहरूले स्नायु प्रणालीमा असर गर्ने रसायनहरूले भरिएका प्वाल परेका झोलाहरू टोकियोको प्रमुख क्षेत्रतर्फ गइरहेको रेल मार्गमा राखिदिएका थिए । यो समूहका प्रमुख सोको असहराले आफूहरूको अनुयायीबाहेक पृथ्वीमा रहेको सबैकुरा विश्वयुद्वमार्फत समाप्त हुँदैछ भन्ने हल्ला चलाउने गरेको थियो ।

सोकाले आफूलाई बुद्धत्व प्राप्त भएको दाबी गर्दथे । यो समूहको विश्वभर हजारौं अनुयायी छन् ।

यो समूहले सन् १९८९ मा जापानका धार्मिक संगठनको मान्यता पनि पाएको थियो । सन् १९९५ को आक्रमणपछि उक्त सम्प्रदाय भूमिगत भएको थियो ।

घटनापछि उक्त समूहले आफूलाई एलेफो र हिकारी नोवा भन्दै गतिविधि संचालन गर्दैै आएको थियो । एलेफो र हिकारी नोवा दुवै समूह जापानमा वैध छन् तर उनीहरूलाई ‘खतरनाक धर्म’ भन्दै निगरानीमा राखिएको छ । (एजेन्सी)