
नवलपुर । पश्चिमी नवलपरासीमा रहेको गण्डक पावर हाउसले मर्मतसम्हारको काम नगर्दा बार्षिक ७३ करोड रुपैयाँ घाटा व्यहोर्दै आएको छ ।
गण्डक जलविद्युत केन्द्र सूर्यपुराको २ वटा टर्वाइन लामो समयदेखि विग्रेकाले मर्मतको अभावमा बार्षिक ७३ करोड ५८ लाख ४० हजार रुपैया बराबरको घाटा व्यहोर्दै आएको हो ।
१५ मेगावाट विद्युत उत्पादान क्षमता रहेको उक्त पावर हाउसमा ५/५ मेगावाटको ३ वटा टर्वाइन जडान गरिएको छ ।
४० बर्ष पुग्न लागेको उक्त पावर हाउसमा जडित एउटा टर्वाइन पूर्णरुपले नष्ट भैसकेको छ भने अर्को पनि विग्रेर उत्पादन बन्द भएको छ ।
अहिले २ नम्बर टर्वाइन मात्र संचालनमा छ जसबाट ५ मेगावटा विद्युत उत्पादन हुनु पर्नेमा नहरमा पानीको अभाव र टर्वाइनको मर्मत नहुँदा ३ मेगावाट मात्र विद्युत उत्पादन भैरहेको विद्युत केन्द्र प्रमुख कपिलदेव मानजनले जानकारी दिए ।
एउटा टवाईन पूर्ण क्षमतामा चल्न नहरमा ४ हजार क्युसेक पानी चाहिन्छ तर नहरमा भारतीय पक्षले ६ हजार क्युसेक पानी मात्र छोड्ने गर्दछ जसबाट दुईटा टर्वाइन पनि राम्ररी चलाउन नसकिएको गुनासो प्रमुख मानजनको छ ।
जिल्लाको परासी क्षेत्रमा करिब ३० मेगावाट विद्युतको आवश्यकता छ तर केन्द्रले अहिले ३ मेगावाट मात्र विद्युत उत्पादन गरिरहेको छ ।
थप विद्युत भारतको विहार र बुटवलबाट ३३/११ केभीको बिजुली किनेर परासी क्षेत्रमा वितरण हुँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्