१३ फाल्गुन २०८०, आइतबार | Mon Feb 26 2024


घरपालुवा चौपायामा ट्याग लगाउने अभियानमा स्थानीय बासिन्दाको असहयोग


0
Shares

कञ्चनपुर, असार २२ । छाडा चौपाया व्यस्थापनका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले थालेको ट्याग लगाउने अभियानलाई स्थानीय बासिन्दाले असहयोग गरेका छन् ।

स्थानीय बासिन्दाले ट्याग लगाउन खटिएका प्राविधिकलाई चौपायामा ट्याग लगाउन नदिएर गाई तथा बाच्छाबाच्छी लुकाउने गरेको पाइएको छ ।

नगरपालिकाले सामुदायिक चौपायालाई व्यवस्थापन गर्न भन्दै यसअघि नगरभित्रका १९ वटै वडामा ३० हजार ५ सय घरपालुवा चौपायाको लगत संकलन गरेको थियो । सोही लगतका आधारमा बागफाँटा र ब्रह्मदेवमा गौशाला निर्माण गरी सामुदायिक चौपायालाई व्यवस्थापनका लागि घरपालुवा चौपायामा ट्याग लगाउने अभियान संचालन गरिएको हो ।

ट्याग लगाउन असहयोग गर्ने परिवारको नाम संकलन गरेर त्यस्ता परिवारलाई नगरपालिकाबाट दिइने सुविधा कटौती गरिने र बल प्रयोग गरेर भए पनि चौपायामा ट्याग लगाइने भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंह बताउँछिन् ।

गाईले दूध दिन छाडेपछि गाई तथा बाच्छालाई छाडा छाड्ने चलन छ । ट्याग लगाएका गाई तथा बाच्छा छाडा पाइएमा सम्बन्धित धनी पहिचान गरी नगरपालिकाले कारवाही गर्ने भएपछि कतिपयले साना बाच्छा लुकाउने गरेको प्राविधिक बताउँछन् । 

नगरपालिकाले असार २५ सम्म नगरका सबै घरपालुवा चौपायामा ट्याग लगाउने लक्ष्यका साथ काम शुरु गरेको थियो । भीमदत्त नगरपालिकाले सामुदायिक चौपायाको पुनर्स्थापनाका लागि पहिलो नगर सभाबाट ५० लाख बजेट विनियोजन गरेको थियो ।