
काठमाडौं, फागुन २२ । वि.सं. २०९९ सम्ममा देशलाई समुन्नत राष्ट्रको स्तरमा पुर्याउने लक्ष्य लिइएको छ ।
राष्ट्रिय योजना आयोगले तयार गरेको दीर्घकालीन सोचसहितको १५औं योजनाको मस्यौदा–आधारपत्रले यस्तो लक्ष्य लिएको हो ।
सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान सार्थक बनाउन आयोगले आगामी २५ वर्षे दीर्घकालीन सोचसहितको पञ्चवर्षीय योजना तयार पारेको हो ।
आयोगले तयार पारेको मस्यौदाका सन्दर्भभा सरोकारवालाहरुसँग छलफल गरेको छ ।
बुधबार आयोजित छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले योजनाले समृद्ध अर्थतन्त्र, सामाजिक न्याय तथा परिष्कृत जीवनसहितको समाजवादोन्मुख लक्ष्य लिइएको बताए ।
राज्यकारुपमा रुपान्तरण गर्दै उच्च आयस्तर भएको मुलुकमा स्तरोन्नति हुने आधार तयार गर्ने संकल्पसहित राष्ट्रिय लक्ष्य लिएको उनले बताए ।
उनले प्रदेशका योजना आयोगसँग समन्वय गर्दै लगानी सुनिश्चितताको स्थितिका आधारलाई हेरेर योजना ल्याइएको भन्दै यी योजना महत्वाकांक्षी नभएको जिकिर गरे ।
वि.सं. २१०० सम्ममा मुलुकको प्रतिव्यक्ति आय १२ हजार ५०० अमेरिकी डलरमा पुर्याउने दीर्घकालीन सोच योजनामा राखिएको छ ।
हाल मुलुकको प्रतिव्यक्ति आय एक हजार चार अमेरिकी डलर छ भने कुल गार्हस्थ्य उत्पादन ३० खर्ब सात अर्ब छ ।
गरिबीको रेखामुनि रहेको जनसंख्या २१.६ प्रतिशत छ ।
१५औं योजना अवधिमा पशुपति क्षेत्र विकास कोष, राष्ट्रपति चुरे तराई–मधेस संरक्षण र रेल्वे तथा मेट्रो विकास आयोजनालगायत चालू १७ राष्ट्रिय गौरवका आयोजना सन्चालन गरिने उल्लेख गरिएको छ ।
यस्तै, बूढीगन्डकी जलाशययुक्त आयोजना र पश्चिम सेती जलविद्युत् आयोजनालाई राष्ट्रिय गौरवका आयोजनाकारुपमा सुरु गर्ने लक्ष्य योजनामा राखिएको छ ।
६ ओटा विषयगत समूहको छलफल र प्रस्तुतिपछि आयोगले मस्यौदालाई परिमार्जन गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्