
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकहरुलाई मुलुकको पूर्वाधार विकासमा लगानी गर्न आग्रह गरेका छन् ।
नेपाल इन्फ्राष्ट्रक्चर बैंकको काठमाडौमा उद्घाटन गर्दै उनले बैंक तथा वित्तीय संस्थाहरुलाई पूर्वाधार विकासमा लगानी गर्न सुझाए ।
बैंक र उद्योगबीच ब्याजदरको विषयमा भएको पाखुरा सुर्कासुर्की आफूलाई मन नपरेको भन्दै अर्थमन्त्री खतिवडाले यस विषयमा चासो लिन नेपाल उद्योग वाणिज्य महासंघलाई आग्रह पनि गरे ।
बैंक पनि निजी क्षेत्रकै, उद्योग–व्यवसाय पनि निजी क्षेत्रकै भन्दै उनले पाखुरा सुर्कासुर्की गरेर होइन आपसमा बसेर छलफल गरी समाधान खोज्न उनको सुझाव छ ।
सरकार ‘सुँड’ पसारेर भने अघि नबढ्ने भन्दै मन्त्री खतिवडाले उद्योगी व्यवसायीले छलफल गरेर कहाँ हस्तक्षेप चाहिएको हो भन्न आग्रह गरे । तर झगडा नै गरिरहेमा भने मिलाउन सरकार अग्रसर हुने पनि उनले बताए ।
पूर्वाधार निर्माणलाई तिव्रता दिन बैंकहरुको भूमिका महत्वपूर्ण हुने भन्दै खतिवडाले सरकार र निजी क्षेत्रको संयुक्त हातेमालोबाट मात्र देशको आर्थिक विकास सम्भव हुने प्रष्ट गरे ।
नेपाल राष्ट्र बैंकका गर्भन चिरञ्जिवी नेपालले बैकलाई जनतामुखी हुन सुझाव दिए । ४० अर्ब अधिकृत पुँजी र २० अर्ब जारी पुँजी रहेको यस बैंकले बुधवारबाट कारोबार शुरु गरेको छ ।
बैंकमा सरकारको १० प्रतिशत, पब्लिक लिमिटेड कम्पनीको ४० प्रतिशत, निजी लगानीकर्ताको १० प्रतिशत रसर्वसाधारणलाई ४० प्रतिशत शेयर छुट्याईएको छ ।
प्रतिक्रिया दिनुहोस्