
पोखरा । पोखरा महानगरपालिकालाई ४ वर्षको कर एकै पटक तिर्न पाराग्लाइडिङ कम्पनीहरु सहमत भएपछि पोखरामा भइरहेका पाराग्लाईडिङ उडान नियमित हुने भएका छन् ।
पोखरा महानगरपालिका र हवाई खेलकुद संस्था, नेपाल पाराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ संघको संयुक्त प्रयासपछि व्यबसायीहरु एक साताभित्रै सबै कर बुझाउन तयार भएका हुन् ।
यसअघि महानगरपालिकाका मेयर मानबहादुर जिसीले पाराग्लाइडिङ कम्पनीहरुले २०७२ सालदेखि महानगरले तोकेको कर नबुझाएकाले उडान रोक्ने चेतावनी दिएका थिए ।
पाराग्लाइडिङ कम्पनीले वार्षिक ८६ हजार रुपैयाँका दरले कर तिर्न बाँकी छ । एक सातासम्म पनि कर नतिरे पाराग्लाईडिङ बन्द गराउने महानगरले जनाएको छ ।
यता, दिनहुँ दुर्घटना भएपछि नागरिक उड्ययन प्राधिकरण पोखराले सोलो उडानमा भने रोक लगाएको छ ।
अर्को सूचना जारी नहुँदासम्म सोलो उडान रोकिएको प्राधिकरण पोखराका प्रमुख भोला गुरागाईंले जानकारी दिए ।
तीन दिनमै पोखरामा ४ वटा पाराग्लाइडिङ दुर्घटनामा परेका थिए । दुर्घटनाबाट २ जनाको मृत्यु भएको थियो भने दुई जना घाईते भएका थिए ।
प्रतिक्रिया दिनुहोस्