
-सीता पाण्डे, ईमेज
माघ मसान्तसम्म सडकको स्तरोन्नतिको काम सक्ने गरी सम्झौता भए पनि ठेक्का लिने कम्पनीले समयमै काम नगर्दा ढिलो भएको हो ।
पाल्पाको छहरा–तीनगिरे सडक स्तरोन्नतिको जिम्मा पाएको आशिष सूर्य चन्द्र जेभीको सुस्तताका कारण काममा ढिलाई भएको छ ।
जिल्ला विकास समितिसँग ८ करोड २२ लाख ७४ हजार ३ सय ६६ रुपैयाँमा स्तरोन्नतिको ठेक्का पाएको कम्पनीले ९ दशमलव ५ किलोमिटर सडक माघ मसान्तसम्म सक्ने सम्झौता गरेको थियो ।
राष्ट्रिय ग्रामिण यातायात सुदृढीकरण परियोजनाअन्तर्गत विश्व बैंकको सहयोगमा यो सडक स्तरान्नतीको काम सुरु भएको हो ।
सम्झौता भएको १५ महिनासम्म ३५ प्रतिशत मात्र काम भएको जिल्ला प्राविधिक कार्यालय पाल्पाले जनाएको छ ।
निर्माण कम्पनी आशिष सूर्य चन्द्र जेभीले बाटो चौडा बनाउने, सडक नाली बनाउने, टेवा पर्खाल निर्माणदेखि सडकको लेवल मिलाउने र सडक ओटासिल गर्ने जिम्मा लिएको हो ।
तर, निर्धारित समयभित्र सडक स्तरोन्नती नहुँदा यात्रु, बटुवादेखि सवारी चालकलाई पनि समस्या पर्दै आएको छ ।
सडकमा भएका खाल्डाखुल्टीका कारण सवारी चलाउनै समस्या हुने गरेको जुठापौवाका चालक अमर सुनार बताउँछन् ।
जिल्ला विकास समिति र प्राविधिक कार्यालयले नियमित निगरानी नगरेकाले ठेकेदारले समयमा काम नगरेको स्थानीय उपभोक्ता बताउँछन् । अहिलेसम्म भएको काम पनि सम्झौताअनुसारको नभएको उनीहरुको आरोप छ ।
तर जिल्ला प्राविधिक कार्यालयले पाल्पाले भने ठेकेदारलाई चाँडो काम सक्न पटकपटक दबाब दिइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्