
चालु आर्थिक वर्ष १० खर्ब ४८ अर्बको बजेट विनियोजन गरेपनि सोमबार मध्यावधि समीक्षा गर्दै ९ खर्ब ३५ अर्ब ८८ करोड रुपैयाँ बराबर खर्च हुने संशोधित अनुमान सार्वजनिक गरेको हो । यो विनियोजित बजेटको ८९ दशमलब दुई दुई प्रतिशत हो ।
खर्चको प्रकृति र अनुमानको आधारमा चालु खर्च ५ खर्ब ६१ अर्ब र पुँजीगत खर्च २ खर्ब ६२ अर्ब र वित्तीय व्यवस्थातर्फ १ खर्ब १२ अर्ब पुग्ने संशोधित अनुमान सरकारले गरेको हो ।
मध्यावधि समीक्षा सार्वजनिक गर्दै उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले अहिलेसम्म पुँजीगत खर्च ११ दशमलव तीन शून्य प्रतिशत बराबरमात्र भएपनि अब भने बढ्ने दाबी गरे ।
बजेटको आकार नै ठूलो भएर कम देखिएको तर अघिल्ला वर्षहरुका बजेटका तुलनामा खर्च बढी भएको पनि उनले उल्लेख गरे ।
जेठ १५ मै अग्रीम बजेट आएर अपेक्षित सकारात्मक परिणाम देखिसक्नुपर्ने भएपनि त्यो भने नदेखिएको स्वीकार्दै उनले लक्ष्यको ९० प्रतिशत बराबर भने खर्च पुग्ने उल्लेख गरे ।
बजेट कार्यान्वयनमा गरिएको सुधारको प्रयासले खर्च परिचालन बढ्ने र राजश्व परिचालन लक्ष्य नाघ्ने देखिएको अर्थमन्त्री महराले बताए ।
विनियोजित बजेट खर्च नगर्ने तर नयाँ कार्यक्रम बनाइ विभिन्न मन्त्रालयहरुबाट २ खर्ब ७७ अर्ब बराबरको थप बजेट माग भइ आएको पनि अर्थमन्त्री महराले उल्लेख गरे ।
फागुनसम्म हेर्ने र चैतपछि काम नभएका आयोजनाको रकम प्राथमिकताप्राप्त आयोजनामा रकमान्तर गरिने अर्थमन्त्रीले जानकारी गराए ।
अर्थसचिव शान्तराज सुवेदीले पुनःनिर्माणले गति लिएपनि खर्च बढ्ने उल्लेख गरे । पुनःनिर्माण प्राधिकरणका लागिमात्र ३४ अर्ब बजेट छु्याइएकोमा १ अर्ब पनि खर्च नभएको उनले गुनासो गरे ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले पुँजीगत खर्च परिचालनका लागि गरिएको सुधारले आगामी वर्षहरुमासमेत खर्च बढाउन सघाउ पुग्ने दाबी गरे ।
वित्तीय क्षेत्रमा तरलता, कर्जासंकटजस्ता समस्या केही नरहेको भन्दै श्रेष्ठले चैतपछि बजारमा अधिक तरलता हुनेसमेत दाबी गरे ।
सरकारले अन्य आर्थिक सूचकहरु सकारात्नमक रहेको भन्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिको साढे ६ प्रतिशतको लक्ष्य प्राप्त हुने पनि जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्