काठमाडौं, फागुन २१ । चालू आर्थिक वर्षको ६ महिनासम्ममा सरकारले कुल बजेटको २८ प्रतिशतमात्रै खर्च गरेको छ ।
बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थ मन्त्रालयले १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट सार्वजनिक भएकोमा माघसम्म तीन खर्ब ७५ अर्बमात्रै खर्च भएको जनाएको हो ।
यो कुल बजेटको २८.६ प्रतिशतमात्रै हो ।
तीन खर्ब १३ अर्बको पुँजीगत खर्चका लागि बजेट छुट्याइएपनि हालसम्म १७.७ प्रतिशत अर्थात् ५५ अर्ब ५२ करोडमात्रै खर्च भएको छ ।
यस अवधिमा ४ खर्ब दुई अर्ब ४५ करोड राजश्व संकलन भएको छ । यो गत वर्षको तुलनामा २६.१ प्रतिशतले वृद्धि हो ।
समीक्षा अवधिसम्ममा राष्ट्रिय गौरवका आयोजनाहरुमा २२ अर्ब ८ करोड खर्च भएको अर्थसचिव राजन खनालले बताए ।
आर्थिक वर्षको ६ महिनासम्ममा बजेट खर्चको अवस्था निराशाजनक रहेपनि आर्थिक वर्षको अन्त्यसम्म ९१ प्रतिशत बजेट खर्च हुने मन्त्रालयको दाबी छ ।
चालू आर्थिक वर्षमा ११ खर्ब ९९ अर्ब १५ करोड खर्च हुने मन्त्रालयको अनुमान छ । जसमा पुँजीगततर्फको खर्च ८४.५ प्रतिशत खर्च हुने अनुमान सरकारको छ ।
समीक्षा अवधिमा मूल्यवृद्धि ४.२ प्रतिशतमा सीमित रहेको, रेमिट्यान्समा ३०.२ प्रतिशतले वृद्धि भइ ४ खर्ब ४३ अर्ब पुगेको मन्त्रालयले जनाएको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाले खर्च बढाउनुपर्ने चुनौती रहेको बताए ।
आयोजना सम्पन्न भइसकेपनि भुक्तानी नपाएको भन्ने गुनासो आएको भन्दै उनले अर्थ मन्त्रालयमातहतको कुनैपनि निकायका कारण भुक्तानी नरोक्न निर्देशन दिए ।
खर्च गर्ने प्रवृत्ति र गतिमा सुधार आवश्यक रहेको भन्दै उनले आर्थिक परिसूचकका आधारमा ७ देखि ८ प्रतिशतको बीचमा आर्थिक वृद्धि हासिल हुने बताए ।









प्रतिक्रिया दिनुहोस्