
मोर्चाका कार्याकर्ताले राजविराज नगरपालिकाको भवनमा तोडफोड गरेका छन् ।
बुधबार बिहानबाट प्रदर्शनमा उत्रिएका मोर्चाको नेता तथा कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै राजविराज नगरपालिकामा तोडफोड गर्नाका साथै ढुंगामुढा गरी कार्यकारी अधिकृत कोठाको झ्यालको सिसा फुटाएका छन् ।
सप्तरीको सदरमुकाम राजविराजबाट चल्ने लामो तथा छोटो दुरीको सवारी–साधन बुधबार बिहानदेखि चल्न दिइएको छैन भने शिक्षण संस्था, कलकारखाना, उद्योग, बजार, पसलसमेत बन्द रहेको प्रहरीले जनाएको छ ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको विरोध गर्दै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले बुधबार एकदिन मधेस बन्द गरेको हो ।
जनकपुरमा तनाव
मधेसी मोर्चाको कार्यकर्ताले जनकपुरस्थित एमालेका नेता रघुवीर महासेठको घरमा ढुंगामुढा गरी तोडफोड गरेका छन् ।
आन्दोलनरत् मोर्चाका कार्यकर्ताले गरेको ढुंगामुढाबाट महासेठको घरको दुईओटा झ्यालको सिसा फुटेको छ ।
नेता महासेठको घरमा तोडफोड भएपछि एमालेका कार्यकर्ताले प्रतिकार गर्दा भएको झडपमा परी मोर्चाका दुई कार्यकर्ता घाइते भएका छन् ।
घाइते हुनेमा सद्भावा पार्टीका राजु साह र कुलदिप साह रहेको र उनीहरुको उपचार जनकपुर अञ्चल अस्पतालमा भइरहेको जनाइएको छ ।
महासेठको घरमा तोडफोडलगत्तै व्यापकरुपमा प्रहरी परिचालन स्थितिलाई नियन्त्रणमा लिइएको छ ।
मधेस बन्दकोक्रममा जनकपुरमा बिहानैदेखि मोर्चाका नेता–कार्यकर्ताले मोटरसाइकलमा र्याली प्रदर्शन गर्दै पसल, बजार, शैक्षिक संस्थान र यातायात ठप्प बनाएका थिए ।
यसैबीच, मधेसी दलनिकट विद्यार्थी मोर्चाले जनकपुरका क्याम्पसमा तालाबन्दी गर्दै स्ववियु चुनाव हुन नदिने घोषणा गरेको छ ।
सिरहा ठप्प
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका कारण बुधबार बिहानैदेखि सिरहाको जनजीवन प्रभावित भएको छ ।
बन्दका कारण बिहानैदेखि सवारी–साधन पूर्णरुपमा ठप्प हुनुका साथै पूर्व– पश्चिम राजमार्ग पनि सुनसान देखिएको छ ।
बन्दका कारण उद्योग, कलकारखाना र पसलसमेत बन्द रहेका छन् भने यातायातका साधन सडकमा नचल्दा यात्री मर्कामा परेका छन् ।
जिल्लाको लहान, गोलबजार र मिर्चैयालगायतका राजमार्ग क्षेत्रमा मोर्चाका कार्यकर्ता बिहानैदेखि सडकमा उत्रिएका थिए ।
संविधान संशोधन नगरी निर्वाचनको मिति घोषणा गरेर सरकारले आफूहलाई धोका दिएको भन्दै मोर्चाले मधेस बन्दको आह्वान गरेको हो ।
पर्सामा पनि जनजीवन प्रभावित
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको एकदिने मधेस बन्दको कारण पर्साको जनजीवन प्रभावित भएको छ ।
बन्दकर्ताले बिहानैदेखि जिल्लामा रहेका उद्योग, व्यपार, शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, यातायातका साधनसमेत बन्द गराएपछि जनजीवन प्रभावित भएको हो ।
बन्द आह्वानकर्ता बिहानैदेखि वीरगन्जको विभिन्न चोकमा टायर बाली लामो तथा छोटो दुरीका सवारी–साधन सन्चालनमा रोक लगाएपछि वीरगन्जको बसपार्कमा सयौं यात्री अलपत्र परेका छन् ।
बन्दका कारण जिल्लामा रहको शैक्षिक संस्था बन्द भएपनि प्रेस, एम्बुलेस, बारुणयन्त्र, पर्यटक सवार सवारी–साधन, रिक्सा, टेम्पु, ठेला, मोटरसाइकल भने निर्वाधरुपमा सन्चालन भएका थिए ।
बन्दकाक्रममा सम्भावित तोडफोड तथा आगजनीजस्ता घटनालाई नियन्त्रण गर्न वीरगन्जमा उल्लेख्य संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।
नगरको प्रत्येक चोकमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीलाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । रासस
दृष्यः मधेस बन्दकाक्रममा बुधबार जनकपुरमा देखिएको दृष्य । तस्वीरः रामआशिष यादव/इमेज ।
प्रतिक्रिया दिनुहोस्