Logo २९ जेष्ठ २०८३, शुक्रबार | Sat Jun 13 2026


ट्यांकरचालकको धम्कीले पेट्रोल पम्पमा अनावश्यक लाइन


0
Shares

गत शुक्रबार एक दिन उपत्यकामा इन्धन ढुवानी ठप्प पारेका चालकले माग सुनुवाइ नभए १५ फागुनबाट हडताल गर्ने प्रचार गरेका छन् ।

हडतालको त्रासमा उपभोक्ताले बढी इन्धन सञ्चय थालेका छन् । जसकारण प्रत्येक पम्पमा लाइन लामो भएको छ ।

ट्यांकरचालकहरूले १५ बुँदे माग राखेको र पूरा गर्न डेढ महिनादेखि प्रयास गरे पनि सफल नभएपछि हडतालको कार्यक्रम ल्याउनुपरेको जिकिर गरे । उनीहरूले मुख्य रूपमा दुईवटा मुद्दा उठाइरहेका छन् ।

आयल निगमले २० हजार लिटर तेल बोक्ने ट्यांकरमा तापक्रम नोक्सानीबापत ५० लिटर चुहावट हुने लक्ष्य निर्धारण गरेको छ ।

तर, सोभन्दा धेरै बढी तेल चुहावट हुन थालेपछि निगम सञ्चालक समितिले केही समयअघि २० हजार लिटरको ट्यांकरबाट दुई सय लिटरभन्दा बढी चुहावट भए प्रचलित मूल्यको दोब्बर हुन आउने रकम जरिवानाबापत असुल्ने नियम बनाएको थियो । चालकले सो नियम खारेज गर्न माग राखेका छन् ।

त्यस्तै, एक व्यक्तिले एउटा ट्यांकर खरिद गरेर पनि चलाउन पाउने प्रावधानलाई हटाएर आयल निगम सञ्चालक समितिले ट्यांकर व्यवसायी हुन कम्तीमा पाँच ट्यांकर हुनुपर्ने प्रावधान बनाएको छ ।

यस्तो नियमले थोरै व्यवसायीसँग धेरै ट्यांकर हुने र भाडामा लगाउन सजिलो हुने सञ्चालक समितिका एक सदस्यले बताए ।

तर, ट्यांकरचालकहरूले एउटै ट्यांकर किनेर चलाउन पाउनुपर्ने माग राख्दै आएका छन् । ट्यांकरचालक आफैँले ट्यांकर किनेर व्यवसायी बन्ने प्रचलन पछिल्लो समयमा बढेको छ । –नयाँ पत्रिका दैनिकबाट