१९ जेष्ठ २०८०, शुक्रबार | Fri Jun 2 2023


अनुदानको रकम तीन दिनभित्र उपलब्ध नगराए सशक्त आन्दोलन गर्ने उखु किसानको चेतावनी


0
Shares

सर्लाही, फागुन २१ । उखु किसानहरुले तीन दिनभित्र अनुदान रकम उपलब्ध नगराए आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

मंगलबार सर्लाहीको हरिवनमा नेपाल उखु उत्पादक महासंघले पत्रकार सम्मेलन गरी प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको सहमति कार्यान्वयन नभए आन्दोलनमा जाने बताएको हो ।

सर्लाहीका उखु किसानले सहमतिअनुसार सरकारी अनुदानको रकम पाउन सकेका छैनन् ।

गत वर्ष बिक्री गरेको उखुको अनुदान रकम तत्काल उपलब्ध गराउन माग गर्दै किसानले फागुन ६ गतेदेखि आन्दोलन सुरु गरेका थिए ।

किसान सडक आन्दोलनमा उत्रिएपछि फागुन ७ गते प्रमुख जिल्ला अधिकारीको रोहबरमा छलफल गरी एक हप्ताभित्र रकम उपलब्ध गराउने सहमति भएको थियो ।

तर, सहमति भएको दुई हप्ता बितिसक्दा पनि किसानलाई रकम उपलब्ध नगराइएको नेपाल उखु किसान संघका अध्यक्ष राजकुमार उप्रेतीले बताए ।

कोष तथा लेखा नियन्त्रक कार्यालय सर्लाहीका प्रमुख जगतप्रसाद थपलियाले भने किसानलाई दुई दिनभित्र अनुदान रकम उपलब्ध गराउन प्रक्रिया अघि बढाइसकिएको जानकारी दिएका छन् ।