संसदको अवरोध हटाउन एमाले तयार, आजदेखि बैठक सुचारु हुने • Image Khabar Image Khabar


संसदको अवरोध हटाउन एमाले तयार, आजदेखि बैठक सुचारु हुने


Imagekhabar
१२ फाल्गुन २०७३, बिहीबार १३:१०

संसदको अवरोध हटाउन एमाले तयार, आजदेखि बैठक सुचारु हुने

सभामुख ओनसरी घर्तीको पहलमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच आज भएको छलफलमा संसद् बैठक सुचारु गर्ने सहमति भएको हो ।

सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको बैठकमा सभामुख घर्तीले सदन अबरुद्ध गरेर निकास ननिस्कने र निर्वाचन गराउनसमेत समस्या पर्ने भन्दै संसद् अबरुद्ध नगर्न प्रतिपक्षी दलका नेता ओलीलाई आग्रह गरेका थिए ।

त्यस क्रममा प्रधानमन्त्री दाहालले पनि संसद्बाटै सबै विषयको छिनोफानो हुने भएकाले गतिरोध नगर्न ओलीलाई आग्रह गरेका थिए ।

तीन जनाबीच भएको छलफलपछि एमाले अध्यक्ष ओलीले पनि निर्वाचनको वातावरण बनाउन एमाले सधैं तयार रहेकाले आजबाट संसद् बैठक अबरुद्ध नगर्ने बताउनुभएको सभामुख घर्तीले जानकारी दिइन् ।

संसद् खुलाउन एमाले तयार भएपछि आजदेखि संविधान संशोधन प्रक्रिया अघि बढ्ने भएको छ ।

आज दिउँसो ३ बजेका लागि संसद् बैठक बोलाइएको छ । बैठकमा संविधान संशोधन प्रस्तावमाथिको छलफल अघि बढाउने कार्यतालिका छ ।

 

प्रतिक्रिया दिनुहोस्