
काठमाडौं, फागुन २१ । यो वर्षको सहिद स्मारक ‘बी’ डिभिजन लिग फुटबलको उपाधि रानीपोखरी कर्नर टिम (आरसीटी)ले जितेको छ ।
मंगलबार एन्फा मैदान सातदोबाटोमा भएको ‘सुपर लिग’को अन्तिम खेलमा श्री भगवती क्लबलाई १–० ले पराजित गर्दै आरसीटीले उपाधि जितेको हो ।
निर्णायक खेलमा आरसीटीलाई जित दिलाउन लोकेन्द्रबहादुर कार्कीले निर्णायक गोल गरे ।
उपाधिसँगै आरसीटीले ८ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्दा उपविजेता बनेको श्री भगवतीले ५ लाख रुपैयाँ पायो ।
‘बी’ डिभिजनमा सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरी पहिलो चरणको लिग खेलाइएको थियो । दुवै समूहका उत्कृष्ट दुई टोलीहरु सुपर लिगमा प्रवेश गरेका थिए ।
सुपर लिगमा सहभागी चार टोलीहरुबीचको भिडन्तमा सबै तीन खेल जित्दै आरसीटी च्याम्पियन बनेको हो ।
‘बी’ डिभिजन च्याम्पियन भएपनि आरसीटी ‘ए’ डिभिजनमा बढुवा भएको छैन ।
एन्फाले यो वर्ष ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिगमा बढुवा र घटुवाको प्रावधान हटाएको छ ।
प्रतिक्रिया दिनुहोस्