६ असार २०८१, बिहिबार | Thu Jun 20 2024


कांग्रेसले सांसदहरुसँग माग्यो धारणा: प्रस्ताव मधेसको हितमा छ कि छैन् ?


0
Shares

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग प्रस्ताव मधेशको हितमा भए नभएबारे छलफल गरेको हो ।

बैठकमा शीर्ष नेताहरुले तराई मधेसबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग सरकारले संसदमा दर्ता गराएको संशोधन प्रस्तावबारे धारणा मागेका थिए ।

यसअघि तराईबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग नै छलफल नगरि प्रस्ताव दर्ता गराएको भन्दै नेतृत्वको आलोचना गरेका थिए ।

बैठकपछि सभापति शेरबहादुर देउवाले संविधान संशोधन प्रस्ताव अघि बढाउने निर्णय भएको जानकारी दिए । मधेसका जनताको माग सम्बोधन गर्न पनि संशोधन प्रस्ताव अघि बढाउनुपर्ने उनले बताए ।

सांसदहरुले पार्टीले गति पक्रन नसकेको, महत्वपूर्ण राष्ट्रिय विषयमा पार्टीमा छलफल नै नगराई निर्णय लिने गरेको भन्दै नेतृत्वको आलोचना गरेपछि सभापति देउवाले राजदूतसहितका सरकारले गर्ने नियुक्तिमा पार्टीमा छलफल गरिरहनु नपर्ने जवाफ दिएका थिए ।

कांग्रेस कोटाबाट नियुक्त गरिएका राजदूतहरुका विषयमा कांग्रेसमा ठूलो विवाद देखिएको छ । राजदूत बनाउन पार्टीमा पैसाको खेलसमेत भएको आरोप लागेको छ ।

सांसद फरमूल्लाह मन्सूरले सदनमा पेश गरिएको संशोधन प्रस्ताव पारित गराउन सबै सांसद एकमत भएको जानकारी दिए ।

यता, सभापति देउवाको कार्यशैलीप्रति वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले पटक पटक बैठक गरेरै गम्भीर आपत्ति जनाएका छन् ।

उनीहरुले आफ्ना पक्षको सरोकारसहित सभापतिलाई लिखित पत्र नै बुझाएका छन् । मुलुकमा निर्वाचन घोषणा हुँदासमेत पार्टीमा छलफल नगराएको भन्दै उनीहरुले पार्टी सञ्चालनमा सभापति असफल भएको निष्कर्ष निकालेका थिए ।

सरकार सञ्चालन, भ्रातृ संस्था परिचालन, संविधान संशोधन र स्थानीय निकायको निर्वाचनका विषयमा छलफल गर्न तत्काल केन्द्रीय समिति बैठक बोलाउन पनि उनीहरुले सभापतिसँग आग्रह गरेका छन् ।