
म्याङलुङ, फागुन २१ । तेह्रथुमको छथरगाउँपालिका–२ हमरजुङकी राममाया कार्कीको घरमा आज बिहान आगलागी हुँदा एक किशोरीको मृत्यु भएको छ ।
आगलागीबाट कार्कीकी २० वर्षीया छोरी सम्झना कार्कीको जलेर मृत्यु भएको हो । कार्कीको बिहान ६ः१५ बजे काठले बनेको दुईतले घरमा आगलागी हुँदा छोरी सम्झनाको घरभित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नारायण गौतमले जानकारी दिए ।
आमा राममायालाई स्थानीय स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको स्थानीयवासीले बताएका छन् ।
आगलागी के कारणबाट भयो भनेर अनुसन्धान भइरहेको सूचना अधिकारी गौतमले बताए । आगलागीबाट रु १० लाख बराबरको क्षति भएको प्रहरीले अनुमान गरेको छ । (रासस)
प्रतिक्रिया दिनुहोस्