
काठमाडौं । संघीय संसद्को बैठक सुरु भएको आज एक वर्ष पुग्दैछ । गत वर्ष फागुन २१ देखि संघीय संसद् सुरु भएको हो ।
यो एक वर्षको अवधिमा सरकारले संविधान कार्यान्वयनसँग जोडिएका अधिकांश कानुन निर्माण गरेको छ ।
यो अवधिमा मौलिक हक कार्यान्वयन गर्ने १७ वटा निर्माण र संविधानसँग बाझिएका १ सय ६१ वटा कानुन संशोधन भएका छन् ।
यसबाहेक संघ, प्रदेश र स्थानीय सरकारको साझा अधिकारसम्बन्धी कानुन बनाउने प्रक्रियासमेत सुरु भइसकेको सरकारले जनाएको छ ।
संघ, प्रदेश र स्थानीय तहको साझा सूचीमा रहेको कानुन बनाउने अवधि संविधानमा किटान नभए पनि संसद्बाट कानुन बनाउने प्रक्रिया सुरु भइसकेको छ ।
प्रदेश लोकसेवा आयोगको काम, कर्तव्य र अधिकारसम्बन्धी आधार र मापदण्ड निर्धारण गर्न बनेको विधेयक राष्ट्रिय सभाबाट पारित भइसकेको छ ।
प्रतिनिधिसभाबाट पारित हुने चरणमा छ । प्रदेश र स्थानीयको कर्मचारी व्यवस्था गर्न सरकारले ल्याएको कर्मचारी समायोजनसम्बन्धी कानुनसमेत बनिसकेको छ ।
नेपाल प्रहरी र प्रदेश प्रहरीले सम्पादन गर्ने कार्यको सञ्चालन, सुपरीवेक्षण र समन्वय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभाको राज्यव्यवस्था समितिमा पुगेको छ । संसद्को एक वर्षको अवधि पूर्णरूपमा सफल भएको निष्कर्ष सरकारले निकालेको छ ।
प्रतिक्रिया दिनुहोस्