
काठमाडौं, असार २१ । यस वर्षको नेपाल फोटो प्रतियोगिताको उपाधि नरेन्द्र श्रेष्ठले जितेका छन् ।
पीजे क्लबले आयोजना गरेको प्रतियोगितामा गत वर्ष सप्तरीमा बाढीका कारण सबैतिर जलमग्न भइ दिवंगत बालकलाई जमिनमा अन्त्येष्टि गर्न नपाइ बाढीको पानीमै बगाएको श्रेष्ठले खिचेको फोटोलाई ‘फोटो अफ दी इयर’को उपाधिसहित पुरस्कृत गरिएको हो ।
ग्लोबल आइएमई बैंकले प्रायोजन गरेको उक्त पुरस्कारको राशी एक लाख रुपैयाँ रहेको छ ।
यस्तै, नेपाल टेलिकमले प्रायोजन गरेको ‘वाइल्ड लाइफ एन्ड नेचर’ अवार्ड शीर्षकमा श्रीराम खत्रीको फोटोले पहिलो स्थान पायो भने उमीद शाक्य र हेमन्त श्रेष्ठको फोटोले क्रमशः दोस्रो र तेस्रो स्थान पाए ।
यसैगरी, दीपेन्द्र रोक्काको फोटोले शिखर इन्स्योरेन्स ‘नेपाल स्माइल’ विधामा प्रथम उपाधि हात पा¥यो भने नरेन्द्र श्रेष्ठ र सुरज श्रेष्ठको फोटो दोस्रो र तेस्रो भए ।
डीसहोम ‘एक्सन स्पोर्टस्’ विधामा प्रतीक रायमाझीको फोटो प्रथम भयो भने रोबीक उपाध्याय र उज्ज्वलचन्द्र बज्रचार्यको फोटोले दोस्रो र तेस्रो स्थान पाए ।
‘फोटो स्टोरी’ अवार्ड भने मनीष श्रेष्ठको फोटोले हात पारेको छ । सो विधामा दोस्रो र तेस्रो स्थान भने हेमन्त श्रेष्ठ र नरेन्द्र श्रष्ठकै फोटोले जितेका छन् ।
आइएमएस ‘डेली लाइफ’ फोटो अवार्ड सुनीता डंगोलले जितेकी छन् भने सो विधामा दोस्रो र तेस्रो स्थान भने दुर्गा रानामगर र केशव थापाको फोटोले पाए ।
यसैगरी, अर्घाखाँची सीमेन्ट ‘समाचार’ विधामा अंगद ढकालको फोटोले प्रथम पुरस्कार जितेको छ । सोही विधामा सन्जोग मानन्धर र स्कन्द गौतमको फोटोले दोस्रो र तेस्रो उपाधि जिते ।
‘कल्चर र टुरिज्म’ विधामा किरण श्रेष्ठको फोटो प्रथम भएको छ भने दिनेश श्रेष्ठ र अजय मान्नधरको फोटो दोस्रो र तेस्रो भएका छन् ।
‘फोटो अफ दी इयर’ विधाबाहेक अरु विधामा पहिलो हुनेलाई जनही ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्