२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


बिरामी अस्पतालमै छाडेर भाग्छन् कुरुवा


0
Shares

काठमाडौं । कडा खालको मानसिक रोगको उपचारका लागि दाजुसँग लगनखेलस्थित मानसिक अस्पताल आएका एक युवक आफ्नै दाजुले छाडेपछि अस्पतालमा अलपत्र छन् ।

एक महीना पहिले दाजुभाइसँगै अस्पताल आए पनि दुई साता पहिले दाजुले छाडेपछि युवक अहिले अस्पतालमै छन् ।

मानसिक रोगका बिरामी भएकाले ठेगाना कहिले कता त कहिले कता भन्ने गरेकाले पत्ता लगाउन नसकिएको अस्पतालले बताएको छ । युवकका दाजु औषधि किन्न भन्दै निस्के पनि त्यसपछि फर्किएका छैनन् ।

मानसिक अस्पतालमै दुई महीना भर्ना भएका अर्का एक व्यक्तिलाई पनि उनका छोराले अस्पतालमै छाडेर सम्पर्कविहीन भएका थिए ।

काम देखाएर अस्पताल बाहिर निस्किएका उनी साँझसम्म नफर्किएपछि अस्पतालले खोजी गर्‍यो । अस्पतालमा भएको नम्बरमा फोन गर्दा फोन बन्द रहेको थियो ।

एक महीना पहिले मात्रै बिरामीले दिएको ठेगानाका आधारमा सम्पर्क गर्दा फोन उठेन ।

उनी आफैँले दिएको ठेगानाका आधारमा परिवार फेला पारेर अस्पतालले अहिले उनलाई घर फर्काइदिएको छ ।

मानसिक रोगका उपचारका लागि आफूसँगै ल्याएका आफन्तले छाडेपछि अलपत्र परेका तीन बिरामी अहिले अस्पतालमा छन् ।

महीनैपिच्छे दुई/चार बिरामी परिवारका सदस्य वा आफन्तले छाडेर अलपत्र हुने गरेको अस्पतालले जनाएको छ ।

ती बिरामीको उपचार गर्दै आफन्तको खोजी गरिने प्रमुख कन्सल्टेन्ट साइक्राट्रिस्ट अनन्त अधिकारीले बताए ।

उनका अनुसार साथमा लिएर आएका बिरामी छाडेर कुरुवा भाग्ने अस्पतालमा समस्याका रुपमा रहेको छ ।

उनका अनुसार बिरामीका बुबाआमा, छोराछोरी, दिदीबहिनी, दाजुभाइलगायत नजिकैका आफन्तले नै उनीहरुलाई उसै छाडेर भाग्ने गरेका छन् ।

लामो समयदेखि मानसिक रोग लागेका बिरामीलाई यहाँ छाडेपछि उपचार पनि हुने र फर्किएर पनि नआउने आफन्तले सोच्ने उनले बताए ।

अस्पतालले बिरामीको उपचार भएपछि उसलाई नै ठेगाना सोधेर आफन्तको खोजी गर्दै आएको छ ।

बिरामीले दिएको सूचनाका आधारमा प्रहरीमार्फत उनीहरुको घर खोजी गर्ने गरिएको उनले बताए ।

अस्पतालमा कुरुवाले बिरामी छाड्ने समस्यासँगै बिरामी आफैँ अस्पतालबाट भाग्ने समस्या रहेको अस्पतालले जनाएको छ ।

बिरामीले आफूलाई केही नहुँदा पनि जबर्जस्ती बिरामी भनेको भन्दै भाग्ने गरेका छन् ।

पचास श्ययाको यो अस्पतालमा भर्ना हुन आउने बिरामीको चाप बढिरहँदा श्यया कहिल्यै खाली नहुने अस्पतालले जनाएको छ ।

अस्पतालको बहिरङ्ग विभागमा दैनिक १५० देखि २०० सम्म बिरामी उपचारका लागि अस्पताल आउँछन् । रासस