Logo ९ असार २०८३, मंगलबार | Wed Jun 24 2026


प्रधानमन्त्री दाहाललाई भारतबाट टेलिफोन, मागियो गोविन्द गौतमको पोस्टमार्टम् रिपोर्ट


0
Shares

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभलले प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरी भारतीय सुरक्षाकर्मीले गोली चलाउँदा नेपाली युवा गोविन्द गौतमको मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गरेका हुन् ।

डोभलले शुक्रबार दिउँसो प्रधानमन्त्री दाहाललाई फोन गरी घटनाप्रति दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।

सोक्रममा डोभलले भारतले घटनाको छानबिन अघि बढाएको भन्दै छानबिन प्रक्रियामा कूटनीतिक सहयोग र समन्वय गर्न एवं मृतकको पोस्टमार्टम् रिपोर्टलगायतका जानकारी उपलब्ध गराउन प्रधानमन्त्री दाहालसँग अनुरोध गरेका थिए ।

टेलिफोन संवादकाक्रममा प्रधानमन्त्री दाहालले कन्चनपुर घटना अत्यन्तै गम्भीर रहेको बताए ।

प्रधानमन्त्री दाहालले भारतीय सुरक्षा सल्लाहकार डोभललाई कन्चनपुर घटनाको गम्भीरता र संवेदनशीलताबारे जानकारी गराउँदै भारत सरकारको छानबिनमा नेपालको सहयोग रहने पनि बताए ।

प्रधानमन्त्री दाहालले भारतको छानबिनपश्चात दोषीमाथि ठोस कारबाही हुने नेपालको अपेक्षा रहेको डोभललाई सुनाएको पनि जनाइएको छ ।