३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


बहुविवाहको आरोपमा बेहुला–बेहुली मन्डपबाटै पक्राउ


0
Shares

उत्तरी पर्वतको माझफाँट गाविस–६ पाखाथरका बेहुला डिलबहादुर परियार र विवाहका लागि सिंगारिएकी बेहुलीलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार इस्टमित्र र आफन्तजनको साथमा माझफाँट–६ स्थित बेहुलाको घरमा नै विवाह गर्ने तयारीसहित मन्डपमा बेहुला–बेहुली बसिरहेकाबेला डिलबहादुरकी जेठी पत्नी कुमारी परियारले जिल्ला प्रहरी कार्यालय पर्वतमा बहुविवाहको जाहेरी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

विवाह सम्पन्न नहुँदै चौकीबाट पुगेको प्रहरी टोलीले दुलाहा–दुलहीसहित केही इस्टमित्रलाई नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय पर्वतमा ल्याएको थियो ।

कुमारीले आफू हुँदाहुँदै श्रीमान्ले दोस्रो विवाह गर्न लागेको भन्दै रोक्न प्रहरीमा जाहेरी दिएकी थिइन् ।

सोही आधारमा प्रहरीले नियन्त्रणमा लिइ दुबैपक्षका आफन्तसहित छलफल गराउँदा डिलबहादुर परियारले आफू वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया रहँदा श्रीमतीले अन्य व्यक्तिसँग अनैतिक सम्बन्ध गाँसेर हिँडेको र आफूले कमाएको पैसासमेत रित्ताएको आरोप लगाएका छन् ।

डिलबहादुरले श्रीमती कुमारीलाई छिमेकी व्यक्तिसँग दोस्रो विवाह गरेर गएको आरोपसमेत लगाएका छन् ।

यता, जेठी श्रीमती कुमारीले भने आफू श्रीमान्को अनुमतिबिना कुनैपनि ठाउँमा नगएको र कसैसँग पनि अनैतिक सम्बन्ध नभएको दाबी गरेकी छन् ।

डिलबहादुरले आफू विदेशमा रहँदा घरमा वृद्ध आमालाई छाडेर गएको र श्रीमतीले औषधि उपचारमा ख्याल नगरिदिँदा आमाको ज्यान गएको भन्दै कुनै हालतमा कुमारीलाई नस्वीकार्ने बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक लिलाराज न्यौपानेले दुबैपक्षको रोहबरमा छलफल जारी रहेको जानकारी दिएका छन् । रासस