Logo १५ असार २०८३, सोमबार | Tue Jun 30 2026


इन्जिनियरिङ पढेका दीपेन्द्र पशुपालन व्यवसायमा सफल बन्दै


0
Shares

-मानबहादुर वली/ईमेज

सुर्खेत । अधिकांश युवा जनशक्ति रोजगारीका लागि विदेशतिरै हुँइकिरहेका छन्  । स्वदेशमै सपना देख्ने र सफल हुनेको संख्या एकदमै न्यून छ ।

तर सुर्खेतस्थित वीरेन्द्रनगरका दीपेन्द्र कार्की भने स्वदेशमै उदाहरणीय पशुपालन व्यवसायी बनेका छन् ।

वीरेन्द्रनगर– ९ लाटिकोइलीका  दिपेन्द्र कार्की २०६७ सालमा सब इन्जिनियर पढ्न चितवन गएपछि पशुुपालनबाट सफल भएकाहरुलाई नजिकबाटै चिन्न पाए । 

परम्परागत रुपमा बाबुआमाले गर्दै आएको कृषि र पशुपालनलाई व्यवस्थित र व्यावसायिक ढंगले अगाडि बढाउने अठोटका साथ उनले चारवटा गाईबाट गाईपालन फर्म शुरु गरे ।

त्यहीबाट सुरु गरेको उनको व्यवसायले अहिले नयाँ मोड लिएको छ ।

साना किसान सहकारीको सहयोगमा व्यवसायलाई अगाडि बढाएका उनले कृषि व्यवसायको अध्ययनका लागि इजरायल जाने अवसर पनि पाए ।

त्यहाँ पुगेर १२ महिनासम्म गाईसम्बन्धी अध्ययन र गाई फर्ममा समेत काम गर्ने अवसर पनि उनलाई मिल्यो । अहिले उनको फर्ममा २१ वटा गार्ई छन् ।

सुरुसुरुमा त पढेलेखेको मान्छे गाईपालनमा लागेको भनेर कतिपयले कुरा पनि काटे तर दृढ आत्मविश्वास र अथक मिहिनेतका कारण उनी दिनप्रतिदिन सफल बन्दै गइरहेका छन् ।

गाईपालनबाट उनले एकातिर दूध उत्पादन गरिरहेका छन् भने अर्कोतिर २२ कठ्ठा जग्गामा अग्र्यानिक तरकारी खेतीसमेत गर्न भ्याएका छन् ।

साना किसान सहकारी संस्थाको ऋणबाट गाईफर्म सुरु गरेका उनले आफ्नै अगुवाइमा सहकारीका अन्य १९ जना सदस्यसहित सोही ठाउँको कोपिला भ्याली स्कुलका शिक्षक र विद्यार्थीका लागि अर्गानिक उत्पादन पुर्‍याउने जिम्मा लिएका छन् ।

अहिले उनकै सक्रियतामा विभिन्न कृषिकार्यहरु सञ्चालन गरेको सहकारीका अध्यक्ष नरेन्द्रनाथ योगी बताउँछन् ।