विराटनगर बजारका मुख्य तथा सहायक सडकहरुमा युवायुवतीका साथै सर्वसाधारण आ–आफ्ना चिरपरिचितसँग एकापसमा अबिर दलेर होली खेलिरहेका छन् ।
छठपर्वमा ठेकुवाको महत्व हुन्छ भने होलीपर्वमा मालपुवा र दालपुरीको विशेष महत्व हुन्छ ।
होलीपर्व मनाउनेहरु अनिवार्यरुपमा मालपुवा पकाएर घरको देउतालाई चढाउँछन् ।

पहाडी जिल्लामा फागुपूर्णिमाका दिन अर्थात् आइतबार (हिजो) होली खेलेर होलीका दहन गरी यो पर्व मनाइएको थियो भने तराईका जिल्लामा फागुपूर्णिमाका दिन बेलुकी होलीका दहन गरी बिहान होलीपर्व मनाउने गरिन्छ ।
पर्वमा अप्रिय घटना हुन नदिन चुस्तरुपमा प्रहरी परिचालन गर्नुका साथै सादा पोसाकमा पनि प्रहरी खटाइएको मोरङका प्रहरी उपरीक्षक सन्दीप भण्डारीले जानकारी दिए ।
पर्सामा होली
वीरगन्ज, फागुन ३० । लगातारको बन्दले निस्सासिएका पर्साका सर्वसाधारणले भने सोमबार खुलेर होली मनाएका छन् ।
विभिन्न संघ–संस्थाले वीरगन्जका विभिन्न स्थानमा आयोजना गरेको कार्यक्रममा नाचगान गरेर सर्वसाधारणले होली खेलिरहेका छन् ।

झापामा होली
झापामा पनि होली पर्व धुमधामका साथ मनाइँदैछ ।
जिल्लाको बिर्तामोड, चन्द्रगढी, धुलावारी, काँकडभिट्टा, दमक, सुरुंगा, झिलझिलेलगायतका स्थानमा होलीको विशेष रौनक देखिएको छ ।
सप्तरीमा होली बहिस्कार
सप्तरीमा भने प्रहरीको गोली लागी आफ्ना पाँच कार्यकर्ता मारिएको भन्दै विरोधमा मधेसी मोर्चाको कार्यकर्ताले होली पर्व नै बहिस्कार गरेका छन् ।
होली बहिस्कारका गर्नुका साथै मोर्चाका नेता–कार्यकर्ता एवं सर्वसाधारणले हत्याको शोकमा सामूहिक केशमुन्डन गरेका छन् ।
सप्तरीको राजविराज, भारदह, कन्चनपुर, सल्यानपुर, बसदिपिक, पठौना, रोपनीलगायत सहरी तथा ग्रामीण क्षेत्रका मधेसी कार्यकर्ता तथा स्थानीय जनताले होली नमनाएका हुन् ।

जनकपुरमा सामान्य
सप्तरी घटनाको विषयलाई लिएर यस वर्ष जनकपुरमा सामान्यरुपमा होली पर्व मनाइँदैछ ।
यस वर्ष जनकपुरमा आपसमा रङहरु लगाएर होली खेले पनि महामूर्ख सम्मेलन र मटकाफोरजस्ता कार्यक्रमहरु भने गरिएन ।










प्रतिक्रिया दिनुहोस्