सरकारले शुक्रबार स्थानीय निकायलाई तहमा रुपान्तरण गरेकाले आजदेखि स्थानीय तहले कार्यालय स्थापना गरेर सेवा सुरु गर्ने भएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुर महानगरपालिकाको उद्घाटनसँगै देशैभरका स्थानीय तहले सेवा शुरु गर्ने गरी तयारी गरिएको स्थानीय विकास मन्त्रालयले जनाएको छ ।
संविधानले स्थानीय तह, प्रदेश र संघ गरी राज्यलाई तीन तहमा निर्धारण गरेको छ । स्थानीय पुनर्संरचना आयोगले दिएको प्रतिवेदनलाई परिमार्जन गर्दै सरकारले देशभर सात सय ४४ वटा स्थानीय तह निर्धारण गरेको छ ।
स्थानीय विकास मन्त्रालयले स्थानीय तह सञ्चालनका लागि चाहिने कर्मचारी व्यवस्थापन गरेको छ । महानगरपालिकामा सहसचिव, उपमहानगरपालिका र नगरपालिकामा उपसचिव र गाउँपालिकामा शाखा अधिकृतले कार्यालय प्रमुखको रुपमा काम गर्नेछन् । ४ महानगरपालिका, १३ उपमहानगरपालिका, २ सय ४६ नगरपालिका र ४ सय ८१ गाउँपालिका निर्धारण गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्