Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


सल्यानको विद्यालयमा यसरी हुँदैछ अमेरिका र क्यानडाबाटै पढाइ


0
Shares

शारदा नगरपालिका–२ मा रहेको शिवजन माविमा आइएसीएजी दोस्रो वर्षका विद्यार्थीलाई इन्टरनेटको माध्यमबाट पढाइ हुन थालेको हो ।

अमेरिकाबाट डा. प्रेम भण्डारीले तथ्यांकशास्त्र र क्यानडाबाट कृष्ण श्रेष्ठले कृषि विषय पढाइरहेको प्रअ हिरालाल नेपालीले बताए ।

उनले भने–‘प्रविधिको उच्चतम प्रयोग गरी विदेशबाट पनि विद्यालयमा सहज ढंगले पढाइ सन्चालन गराउन सकिँदो रहेछ । आइएसीएजी दोस्रो वर्षका विद्यार्थीलाई पहिलो चरणमा इन्टरनेटको माध्यमबाट पढाइ सुरु गरेका छौं ।’

कक्षाकोठामै आएर शिक्षकले पढाउनुपर्छ भन्ने पुरानो मान्यतालाई तोड्नसमेत सो प्रविधि सफल भएको माविका संयोजक विजय केसीले जानकारी दिए ।

विदेशबाट प्रविधिको प्रयोग गरी पढाउन थालेपछि विद्यार्थीमा पनि आकर्षण बढेको उनको भनाइ छ ।

उनले भने–‘पहिले–पहिले कक्षामा खासै विद्यार्थीको सहभागिता हुँदैनथ्यो । तर, इन्टरनेटको माध्यमबाट विदेशबाट पढाइ हुन थालेपछि पूरै विद्यार्थी नियमित आउन थालेका छन् ।’

शिक्षकले कक्षामा आएर पढाउनेभन्दा श्रव्य–दृश्यबाट पढाउँदा बढी प्रभावकारी र सहज भएको केसीले बताए ।

पूर्वसांसद तथा खलंगा निवासी नेत्रलाल श्रेष्ठले विद्यालयमा इन्टरनेट सेवा उपलब्ध गराएपछि पढाउन सम्भव भएको विद्यालयको भनाइ छ । रासस