२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


निर्माणाधीन पुल अलपत्र, स्थानीयलाई सास्ती (भिडियो)


0
Shares

दुर्गा उपाध्याय

कञ्चनपुर, फागुन १७ । सम्झौता अवधि सकिएर एक वर्ष बितिसक्दा पनि कञ्चनपुरको कृष्णपुरमा निर्माणाधीन दुईवटा पुलको काम आधासमेत सकिएको छैन । सम्झौताअनुसार काम पुरा गर्न ठेकेदार उदासिन बन्दा पुल निर्माणमा ढिलाइ भएको हो ।

कञ्चनपुरको कृष्णपुर–१ स्थित खार खोला र ओदाली खोलामा पुल बनाउनका लागि २०७३ भदौ १७ गते थेगिम गाल्वा जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो । बंक–नायल–बुडर सडकखण्ड अन्तर्गत पर्ने निर्माणाधीन पुलको सम्झौता अवधि २०७४ फागुन १५ सम्ममात्रै थियो । तर समयसीमा नाघेर एकवर्ष बितिसक्दा पनि हालसम्म खार खोलामा ६० प्रतिशत र ओदाल खोलामा २५ प्रतिशतमात्र काम सम्पन्न भएको छ ।

भौगोलिक रुपमा पनि विकट रहेको यस गाउँलाई तीनतर्फबाट खोलाले घेरेको छ । शिक्षा, स्वास्थ्यलगायतका सेवा लिन पुल तरेर जानुपर्ने हुन्छ तर वर्षायामको समयमा आउने बाढीले निकै सकस पुर्‍याएको स्थानीयवासीको गुनासो छ ।

ओदाल खोलामा तीन वर्षमा एउटा मात्रै पिल्लर बनेको छ भने खार खोलामा पनि कछुवा गतिमा काम भइरहेको छ । पुल नबनेकै कारण वर्षातमा जनजीवन प्रभावित हुनुका साथै अप्रिय घटना हुने गरेको अर्का स्थानीय पुष्पलाल डगौराको दुखेसो छ ।

उता, सडक डिभिजन कार्यालय महेन्द्रनगरका डिभिजन प्रमुख लक्ष्मीदत्त भट्ट भने पुलकोे डिजाइन पुनरावलोकन गर्नु परेको कारण ढिलो हुन गएको बताउँछन् ।

यसबाट निर्माणको जिम्मा लिने ठेकेदार कम्पनीको चरम लापरबाही त उजागर भएको छ नै, साथसाथै एक वर्षसम्म पनि कारबाही नगर्नुले जिम्मेवार निकायको कार्य कुशलतामा प्रश्न चिह्न उठेको छ ।

भिडियो हेर्नुहोस्