Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


गाउँपालिका उद्घाटन गर्न हिँडेका कर्मचारी प्रहरी सुरक्षामा


0
Shares

पश्चिम रोल्पाको त्रिवेणी गाउँपालिका कार्यालय उद्घाटन गर्न भन्दै कार्यकारी अधिकृत कमन गिरी, वडा सचिव होमजङ्ग विक र चन्द्रप्रकाश शर्मा शुक्रबार (आज) बिहान रोल्पाको जुगारतर्फ हिँडेका थिए । कार्यक्रमस्थलदेखि करिब दुई किलोमिटर अगाडि बसेका १२-१५ जनाको समूहले उनीहरुलाई अगाडि बढ्न नदिएपछि दुई पक्षबीच भनाभन भई असहज स्थीति सिर्जना भएको स्थानीयवासीले बताएका छन् ।

बाटो कुरेर बसेका स्थानीयवासीले अगाडि नबढ्न चेतावनी दिएका कारण आफूहरु कार्यक्रमस्थल जान नसकेपछि प्रहरीलाई खबर गरी सुरक्षासहित इलाका प्रहरी कार्यालय होलेरीमा आएको कार्यकारी अधिकृत कम्मन गिरीले जानकारी दिए ।

गाउँपालिकाको केन्द्र ‘जुगार की त्रिवेणी’ भन्ने विषयमा लामो समयदेखि विवाद रहेको सो स्थानमा आयोगले पछिल्लो पटक जुगारमा केन्द्र निर्धारण गरेपछि त्रिवेणी पक्षधर आक्रोसित भएकाले सो घटना घटेको बताइएको छ ।

असन्तुष्टको विरोधका बाबजुद औपचारिक कार्यक्रमसहित उद्घाटन नभए पनि अन्य काम भने शुक्रबार (आज) बाट सुरु गरिएको प्रमुख जिल्ला अधिकारी डा.डीजन भट्टराईले जानकारी दिए ।

सुरुमा असामान्य अवस्था जस्तो देखिए पनि अहिले भने सुरक्षाकर्मीले अवस्था सामान्य बनाइसकेका छन्, प्रमुख जिल्ला अधिकारी भट्टराईले भने – ‘अहिले तिनैजना इलाका प्रहरी कार्यालयको सुरक्षामा छन् ।’ रासस