
हनोई, फागुन १७ । अमेरिका र उत्तर कोरियाबीच भएको वार्ता विफल भएपछि कोरियाली प्रायद्वीपमा दिगो शान्ति स्थापना हुनेमा आशंकाहरु उब्जिन थालेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच भियतनाममा भएको शिखर वार्ता विफल भएको हो । यसअघि गतवर्ष सिंगापुरमा सम्पन्न पहिलो शिखर वार्ता सकारात्मक बनेकोमा दोस्रो शिखर वार्तामा थप सहमति जुट्ने र दुई मुलुकबीच समझदारीपत्रमा हस्ताक्षरसमेत हुने अपेक्षा गरिएको थियो ।
यसैबीच उत्तर कोरियाका विदेशमन्त्री री योङ्गले अमेरिकासँगको वार्ता विफल हुनुको कारण खुलासा गरेका छन् । उनका अनुसार उत्तर कोरियाले आफूमाथि लाग्दै आएको प्रतिबन्ध आंशिक रुपमा खुला गर्न माग गरेको थियो । अमेरिकाले सो प्रस्ताव अस्वीकार गरेपछि वार्ता विफल भएको हो ।
प्रतिबन्ध आंशिक रुपमा खुला गरेसँगै अमेरिकी पर्यवेक्षकको निगरानीमा उत्तर कोरियाको यङ्गबियन परमाणु अनुसन्धान केन्द्रलाई पूर्ण रुपमा बन्द गर्ने प्रस्ताव पनि उत्तर कोरियाले गरेको उनले बताए । बिहीबार राति पत्रकारहरुसँग कुरा गर्दै उनले बताएअनुसार प्रतिबन्धका कारण नागरिक अर्थव्यवस्था र उत्तर कोरियाली नागरिकको जीवनमा चोट पुगेका कारण आंशिक रुपमा खुलाउन माग गरिएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने उत्तर कोरियाले प्रतिबन्धहरु पूर्ण रुपमा हटाउन माग गरेको र त्यसलाई आफूले अस्वीकार गरेको बताएका थिए ।
उत्तर कोरियाली विदेशमन्त्रीका अनुसार उत्तर कोरियाले लामो दुरीका रकेट परीक्षणमा स्थायी रोक लगाउने प्रतिबद्धता पनि जनाएको थियो ।
उनले हनोई शिखर सम्मेलनजस्तो अवसर अब भविष्यमा फेरि प्राप्त हुन कठिन देखिएको बताए । ‘यदि अमेरिकाले भविष्यमा फेरि वार्ताका लागि प्रस्ताव राख्छ भने पनि हाम्रो सैद्धान्तिक पक्षमा कुनै परिवर्तन हुनेछैन,’ उनले भने । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्