
नारायणी लामिछाने (इमेज)
काठमाडौं, फागुन १६ । बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटना भइ बहालवाला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहितको निधन भएपछि फेरि एकपटक नेपालको हवाई आकाश कत्तिको सुरक्षित छ भन्ने बहस सुरु भएको छ ।
यो घटनाले युरोपेली युनियन (ईयू)को प्रतिबन्ध हटाउन नेपाललाई झनै मुस्किल हुने जानकारहरु बताउँछन् ।
हालसम्म नेपालमा ३५ ओटा हेलिकोप्टर र १७ ओटा साना–ठूला विमान दुर्घटनामा परेको तथ्यांक छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल यस किसिमका घटनाका कारण खोजी गरी विमान दुर्घटनाका घटना दोहोरिन नदिन सरकार सचेत हुनुपर्ने बताउँछन् ।
नेपालमा यान्त्रिक, मौसम र इन्जिनियरिङ त्रुटिका कारण हवाई दुर्घटना हुने गरेको नागरिक उड्ययन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्र लाल सुमन बताउँछन् ।
तर, १० वर्षअघिको तुलनामा पछिल्ला वर्षमा हवाई दुर्घटनाबाट मृत्यु हुनेको संख्यामा भने कमी आएकाले नेपाली आकाश सुरक्षित हुँदै गएको उनको तर्क छ ।
हवाई दुर्घटनापछि बन्ने गरेका विभिन्न समिति, आयोगका प्रतिवेदनले खराब मौसम, भौगोलिक बनावट, इन्जिनियरिङ एवं पाइलटको त्रुटिका कारणले घटना हुने गरेको देखाउने गरेका छन् ।
हवाई क्षेत्रका विज्ञहरु भने नेपाल नागरिक उड्डयन प्राधिकरणको संरचनागत विशिष्टिकरण आवश्यक रहेको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्