
काठमाडौं, फागुन १६ । हेलिकोप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, पर्यटन व्यवसायी आङछिरिङ शेर्पा, नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकृतहरूसहित सातजनाको निधन भएकोप्रति निजी क्षेत्रका संगठनले गहिरो दुःख व्यक्त गरेका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, होटल संघ नेपाल, घरेलु तथा साथा उद्योग महासंघलगायत संस्थाहरुले छुट्टा–छुट्टै विज्ञप्ति जारी गरी घटनाबाट आफूहरु स्तब्ध भएको जनाएका हुन् ।
यस दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति पुग्न गएको उनीहरुले जनाएका छन् ।
यसबाट परिवारजनमा पर्न गएको असह्य पीडाप्रति हार्दिक समवेदना प्रकट गर्दै निजी क्षेत्रका संगठनहरुले स्वर्गीय आत्माहरूको चीर शान्तिको कामना गरेका छन् ।
होटल संघ नेपालले नेपाल भ्रमण वर्ष २०२० को पूर्वार्धमा सो अभियानका प्रवर्तक पर्यटनमन्त्रीको हवाई दुर्घटनाबाट भएको निधनले देशमा बारम्बार भइरहेको हवाई दुर्घटनाको रोकथाम तथा न्यूनीकरणका लागि सम्बद्ध सबै पक्ष अत्यन्तै गम्भीर हुनुपर्ने देखिएको जनाएको छ ।
नेपाली आकाशलाई सुरक्षित बनाउन आ–आफ्नो उत्तरदायित्व गहनरुपमा वहन गर्न हालको शोकलाई शक्तिमा रुपान्तरण गर्नु अपरिहार्य रहेकोमा होटल संघ नेपालले जोड दिएको छ ।
प्रतिक्रिया दिनुहोस्