
फाइल फोटो
विशेष समयमा पहिलो वक्ताकारुपमा रामहरि खतिवडाले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अरु दलको अस्तित्व नै स्वीकार नगर्ने तथा मधेसी मोर्चाले संविधान र स्थानीय तहको निर्वाचन स्वीकार्य नहुने भन्ने दुबै अतिवाद प्रवृत्तिले सहमतिको वातावरणलाई बिगारिरहेको बताए ।
उनले भने–‘अरुलाई होच्याउने, गाली गर्ने प्रवृत्तिले निर्वाचनलाई अप्ठ्यारोमा पारेको छ, सबै सहमतिमा आएर निर्वाचनको वातावरण बनाउन अहिले आवश्यक छ, एकातिर संसदको तलब–भत्ता बुझेर हिँड्ने अर्काेतर्फ निर्वाचनलाई अस्वीकार गर्नेखाले कुरा गर्ने कार्य ठीक होइन, अहिले निर्वाचन आयोग, कार्यपालिका र न्यायपालिकाबीच समधुर सम्बन्ध हुन आवश्यक छ, तर त्यो देखिएको छैन ।’
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद भीमबहादुर रावलले लोकतन्त्रको स्थायित्व र दिगो शान्तिका लागि हुन लागिरहेको निर्वाचनसँग जोडेर आफ्नो पार्टीले गरेको मेची–महाकाली अभियानलाई अराजक भन्नेहरु लोकतन्त्रवादी हुनै नसक्ने ठोकुवा गरे ।
उनले भने–‘राष्ट्र, राष्ट्रियता, स्वाधीनता र अखन्डताको पक्षमा उभिएर अभियानलाई सहयोग र समर्थन गर्ने सबै महान् लोकतन्त्रवादी नेपालीलाई बधाइ दिन चाहन्छु, नेपाली जनताको भावनालाई कसैले पनि खेलवाड नगरोस्, सरकारबाट निर्वाचनलाई टार्ने र सार्ने काम नहोस् ।’
‘एकातिर लोकतन्त्र मान्छु भन्ने अर्काेतर्फ चुनावमा गएर जनताको मत लिऔंभन्दा नमान्ने कुराले के संकेत गर्छ ?’ भन्दै सांसद रावलले ‘निर्वाचनका लागि वातावरण बनाउन सबै तत्पर हुनुपर्छ’–भने ।
नेकपा माओवादी केन्द्रका अमनलाल मोदीले अहिले मुलुकमा संविधान संशोधन, राष्ट्रवाद र निर्वाचनका कुरामा राजनीतिक दल दुई कित्तामा उभिँदा संविधान कार्यान्वयनलाई जटिल बनाएको धारणा व्यक्त गरे ।
उनले भने–‘एउटा तराईबाहेक अर्काे पहाडबाहेकको राष्ट्रवादको कुरा उठिरहेको छ, यी दुवै अतिवाद हुन्, यस्तो राष्ट्रवादले नेपाल र नेपाली जनताको हित गर्दैन, सबै राजनीतिक दलले अहिले निर्वाचनको वातावरण बनाउन सक्रिय हुन आवश्यक छ ।’
नेकपा एमालेका सांसद कमला विश्वकर्माले ‘स्थानीय निकायको निर्वाचनको वातावरण बनाएर तोकिएको समयमा निर्वाचन गराउनेतर्फ सबै राजनीतिक दलका कार्यक्रमकेन्द्रित हुन आवश्यक छ’–भनिन् ।
नेपाल मजदुर किसान पार्टीका सांसद अनुराधा थापामगरले ‘चीन सरकारले सहयोगस्वरुप उपलब्ध गराएको इन्डक्सन चुलोको प्रयोग किन हुन सकेन ?’ भनी प्रश्न गर्दै निजी क्षेत्रको टेलिफोन सेवा प्रदायक संस्था एनसेललाई कर छुट दिन दबाब सिर्जना गर्ने सांसद र नेताहरु राष्ट्रवादी हुनै नसक्ने जिकिर गरिन् ।
सांसद मीना पुनले ‘स्थानीय तहको निर्वाचन सार्ने भन्ने कुरामा सत्यता छ कि छैन ?’ भनी प्रश्न गर्दै ‘निर्वाचन कुनैपनि हालतमा सार्न हुँदैन’–भनिन् ।
नेपा राष्ट्रिय पार्टीका सांसद लक्ष्मण राजवंशीले मल्लिक आयोगले ‘डामेका’लाई राजदूतमा सिफारिस गर्ने कार्यले हामीले कस्तो परराष्ट्रनीति अँगाल्न चाहेका छौं भन्ने स्पस्ट गरेको बताए ।
नेकपा एमालेका सांसद रवीन्द्र अधिकारीले स्थानीय तहको निर्वाचन घोषणा भइ आचारसंहितासमेत लागू भइसकेको अवस्थामा विभिन्न नयाँ आयोजनाको नाममा अर्थमन्त्रीको दबाबमा खर्बौं रकमान्तरण भएको हुँदा त्यसलाई तत्काल रोक्न माग गरे ।
उनले भने–‘अर्थ मन्त्रालय स्वयं आर्थिक अनुशासन तोड्दै छ, पुराना कार्यक्रमलाई सिथिल तुल्याउने र नयाँ कार्यान्वयन हुनै नसक्ने आयोजनालाई बजेट रकमान्तरण गर्ने प्रवृत्तिले हाम्रो मुलुकको विकासको दुर्दशा देखाएको छ, राष्ट्रको ढुकुटीको ब्रह्मलुट भएको छ ।’
सांसद सूर्यबाला राईले ‘स्वदेशमै रोजगारीको अवसर सिर्जना गरेर मुलुकको ऊर्जावान् युवा जनशक्तिलाई देश निर्माणको अभियानमा लगाउन सबै राजनीतिक दलले सोच्न आवश्यक छ’–भने ।
अर्का सांसद कृपाराम रानाले कन्चनपुरमा भारतीय सुरक्षा बलबाट भएको घटनाको विरोध गर्दै त्यस घटनामा सहादत प्राप्त गर्नेलाई राज्यले आवश्यक सम्मान प्रदान गर्न नसकेको भनी गुनासो गरे । रासस
प्रतिक्रिया दिनुहोस्