
उनीहरुले स्थानीय तहमा निर्वाचनको वातावरण नबनेको भन्दै तत्काल वातावरण बनाउन पनि आग्रह गरे ।
चीन भ्रमण समदूरी कायम राख्न
सांसद गिरिराजमणि पोखरेलले १९ वर्षपछि घोषणा गरिएको स्थानीय तहको निर्वाचनलाई सफल बनाउन सबैको साथ र सहयोग जरुरी रहेको बताए ।
वर्तमान सरकार गठन भएपछि दुबै छिमेकीमुलुकसँग समदूरीको सम्बन्ध कायम गर्ने नीतिअनुसार नै प्रधानमन्त्री पुष्पकमल दाहाल चीन भ्रमणमा जान लागेको उनले स्पस्ट गरे ।
चीन सरकारले अगाडि बढाएको ‘एक क्षेत्र एक मार्ग’को अवधारणालाई संयुक्त राष्ट्रसंघलेसमेत स्वीकार गरेको सन्दर्भमा यातायात सञ्जाल, रेलमार्ग, इन्धन आयात, पारवहनलगायत विषयमा विगतमा भएका सम्झौता तथा सहकार्यको योजनालाई प्रधानमन्त्रीको भ्रमणले महत्व दिने स्पस्ट पारे ।
उनले जातीय तथा रङभेदविरुद्धको राष्ट्रसंघीय दिवसलाई भव्यताका साथ मनाउन र नेपालले प्रतिबद्धता गरेको अभिसन्धिलाई पूर्णरुपमा कार्यान्वयन गर्न आग्रह गरे ।
सांसद आशा चतुर्वेदीले स्थानीय तहको निर्वाचनलाई सफल बनाउन मधेसमा उठेको मागलाई सम्बोधन गरेरमात्रै सम्भव भएको भन्दै ठूला दलले जिम्मेवार भएर लाग्नुपर्ने धारणा राखिन् ।
सांसद जीवन परियारले दक्षिण अफ्रिकामा रङभेदको आन्दोलन अन्त्य भएपनि नेपालको तराई–मधेसमा रङभेदविरुद्धको आन्दोलन सुरु भएको भन्दै त्यसलाई समाधान गर्न विशेष पहल गर्नुपर्ने बताए ।
जातीय विभेद्को समस्या हालसम्म कायम रहेको, दलितले कुनै गैरदलितलाई विवाहबारी गर्दा अस्वीकार गर्ने र विभेद गर्नेकार्य जारी रहेको भन्दै उनले गुनासो गरे ।
सांसद सुशीला नेपालले ललितपुरका विभिन्न क्षेत्रमा सरकारले अगाडि बढाएको भौतिक पूर्वाधारका कारण मानिसहरु सुकुम्बासी बन्ने अवस्था आएकाले उचित व्यवस्थापन गरेरमात्रै काम सुरु गर्न आग्रह गरिन् ।
काठमाडौं–तराई–मधेस द्रुतमार्ग, वाग्मती कोरिडोरजस्ता आयोजनाका कारण स्थानीयवासी समस्यामा परेकाले उनीहरुलाई सहमतिमा ल्याएरमात्रै विकास निर्माण गर्न उनले सरकारको ध्यानाकर्षण गराइन् ।
सांसद प्रेम सुवालले जातीय, भाषिक विषयलाई उठाएर राजनीति गर्नुभन्दा आर्थिक समृद्धिको दिशामा लाग्नुपर्ने र सोहीअनुसार नै प्रक्रिया अगाडि बढाउनुपर्ने धारणा राखे ।
वैदेशिक रोजगारीको नाममा म्यानपावर कम्पनीले नेपाली युवालाई ठगी गरेको, निःशुल्क प्रवेशाज्ञा र हवाइ टिकट कार्यान्वयन नभएको, सरकारले ल्याएको सो नीति व्यावहारिकरुपमा कार्यान्वयन नभएको भन्दै उनले संसदीय समिति गठन गर्न माग गरे ।
उनले नेपाली युवालाई ठगी गर्ने म्यानपावर व्यावसायीलाई ठगी मुद्दा चलाएर कारबाही गर्नुपर्ने र उनीहरुलाई कडा कारबाही गर्नुपर्ने माग गरे ।
सांसद सञ्जयकुमार गौतमले संविधान संशोधन प्रस्तावलाई एउटा निकास दिन आग्रह गर्दै संविधान निर्माणकोक्रममा सहमत भएका प्रमुख दल पुनः सहमतिमा आउनुपर्ने बताए ।
उनले जात र धर्मभन्दा पनि नेपाली भएर सोच्न र व्यवहार गर्न मधेसकेन्द्रित दललाई ध्यानकर्षण गराउँदै सत्तापक्ष र प्रतिपक्ष नभनी समस्याको समाधान गर्न ध्यानाकर्षण गराए ।
‘निगम प्रमुखको व्यवहार गैरकानुनी’
सांसद अनन्त पौडेलले नेपाल आयल निगमका प्रबन्ध निर्देशकले सरकारको आदेश र निर्णय अस्वीकार गरेको तथा संसदीय समितिको निर्देशनलाई लत्याएर सेटिङका आधारमा इन्धन भन्डारगृह बनाउने निर्णय गरेको आरोप लगाउँदै त्यसबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरे ।
उनले निगम सन्चालक समितिले निगमका प्रमुखलाई नै इन्धन भन्डारणका लागि जग्गा खरिद गर्न दिने निर्णय गैरकानुनी भएको धारणा राखे ।
सांसद रामनारायण बिंडारीले सत्तारुढ दलका केही नेता र मन्त्री नै स्थानीय निकायको निर्वाचन नगराउने र संविधान कार्यान्वयन हुन नदिने खेलमा लागेको भन्दै दोहोरो चरित्र नदेखाउन आग्रह गरे ।
उनले सरकारमा पनि बस्ने, सडकमा पनि रमिता देखाउने प्रवृत्ति अन्त्य गर्न सुझाव दिए ।
सांसद विकास लम्सालले बजेट कार्यान्वयनमा ध्यान दिनुपर्ने समयमा थप बजेट निकासा गरेर सरकारले आर्थिक अराजकता गरेको आरोप लगाए ।
उनले दूरसन्चार सेवा प्रदायक एनसेलको पुँजीगत लाभकर असुल्ने विषयमा सरकारले प्रस्ट निर्णय नगरेको भन्दै कतै ‘छुट दिन खोजिएको त होइन ?’ भन्ने प्रश्न गरे ।
सांसद लोकमणि ढकाल र प्रेमबहादुर गिरीले स्थानीय तहको निर्वाचन, आर्थिक पारदर्शितालगायत विषयमा सरकार र सदनको ध्यानाकर्षण गराए । रासस
प्रतिक्रिया दिनुहोस्