प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार (आज) भएको भेटमा नेपाल र जापानबीचको आपसी हित र पारस्परिक सम्बन्धका बारेमा छलफल भएको थियो ।
भेटमा प्रधानमन्त्रीले नेपाल र जापानबीच आत्मीय र भावनात्मक सम्बन्ध रहेको बताउँदै यस खालका उच्चस्तरीय भ्रमणले सम्बन्धलाई थप गतिशील बनाउने बताए ।
प्रधानमन्त्रीले अहिले नेपालमा नेपाली जनता आफैँले लेखेको संविधान कार्यान्वयन गर्ने क्रममा स्थानीय तहको निर्वाचनमा जुटेको बताउँदै आफूले राजनीतिक परिवर्तन संस्थागत गरेर आर्थिक विकास र समृद्धिमा जोड गरिरहेको जानकारी गराउनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
प्रधानमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणमा जापानी सहयोगप्रति आभार प्रकट गर्दै सुरुङ मार्ग निर्माणसहित पूर्वाधार र विकास निर्माणमा प्राप्त जापानको सहयोगप्रति धन्यवाद दिए ।
प्रधानमन्त्रीले नेपालमा विदेशी लगानीका लागि सकारात्मक वातावरण बनाउन सरकार र राजनीतिक दल लागिपरेको बताउँदै जापानको अनुभव र प्रविधिवाट नेपालले धेरै कुरा सिक्न सक्ने जनाए ।
जापानी पूर्वप्रधानमन्त्रीले तीन वर्षपछि पुनः नेपाल आउँदा यहाँ नयाँ संविधान बनेर चुनाव हुन लागेको खबर पाउँदा आफू धेरै खुसी भएको बताउँदै संविधान कार्यान्वयनसँगै आर्थिक विकास र समृद्धिको प्रक्रिया अघि बढेकामा प्रधानमन्त्रीलाई सफलताको कामना गरे ।
उनले बुद्धको देश नेपालमा प्रधानमन्त्री दाहालले भगवान् ‘अशोक’ले झैँ युद्धबाट शान्तिमा आएर शान्ति र विकासमा योगदान पुर्याएको भन्दै प्रधानमन्त्री दाहाललाई आधुनिक ‘अशोक’को सङ्ज्ञा दिए ।
प्रधानमन्त्री दाहालले आफू युद्धबाट शान्तिमा आएकामा खुसी रहेको बताउँदै अब आफ्नो सम्पूर्ण शक्ति, समय र क्षमता नेपालको विकास र संमृद्धिमा लगाउन इच्छुक रहेको जानकारी दिए ।
युएईका राजदूतद्वारा शिष्टाचार भेटवार्ता
यस्तै प्रधानमन्त्रीसँग युएईका राजदूत सइद हमदान अल नाक्वीले शिष्टाचार भेट गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्रीले युएई र नेपालबीच सुमधुर सम्बन्ध रहिआएको बताउँदै यसक्रममा युएईबाट विभिन्न क्षेत्रमा प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गरे ।
प्रधानमन्त्रीले हालै आफ्नो युएई भ्रमणका क्रममा प्राप्त सद्भावप्रति आभार व्यक्त गरे । उनले उक्त भ्रमणका क्रममा अगाडि बढाइएका दुई देशबीचका विभिन्न कार्यलाई गति दिन युएईबाट पनि उच्चस्तरको भ्रमणको अपेक्षा गरिएको जानकारी गराए ।
युएईका राजदूतले नेपाल सरकार र नेपाली जनताबाट पाएको सहयोग र सद्भावप्रति आभार व्यक्त गर्दै नेपालको विकास र भौतिक पूर्वाधारको क्षेत्रमा युएईबाट लगानीको प्रतिबद्धता व्यक्त गरेका छन् । रासस










प्रतिक्रिया दिनुहोस्