
-शंकर खनाल र राममान डंगोल(ईमेज)
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आन्तरिक विवाद र भातृ संगठन नेपाल विद्यार्थी संघको किचलो टुंग्याउन हम्मेहम्मे परेको छ ।
संस्थापन र संस्थापन इतरपक्षबीच आफ्नो गुट बलियो बनाउने होडबाजी भएपछि केन्द्रीय समितिको बैठक नै अनिर्णयको बन्दी बनेको छ ।
पार्टी विधानको विषयमा लामो समयको खिचातानीलाई बहुमतका आधारमा टुंगो लगाएको नेपाली कांग्रेस पुनः अनुशासन र निर्वाचन समिति गठनको विवादमा फसेको छ ।
संस्थापन र संस्थापन इतरपक्षबीच आफ्नो गुट बलियो बनाउने होडबाजी चलेपछि कांग्रेस किचलोमा फसेको हो । भ्रातृ संगठन नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन देखिएको विवादसमेत केन्द्रीय समितिले टुंगो लगाउन सकेको छैन ।
आन्तरिक विवाद र कलह मत्थर पार्न बोलाइएको कांग्रेस केन्द्रीय समितिको बैठक पनि पटकपटक स्थगित हुँदै आएको छ । अब अर्को बैठक कहिले बस्छ भन्ने टुंगोसमेत लाग्न सकेको छैन ।
बैठक बोलाएपछि विवाद मत्थर हुने त कता हो कता झन् कलह नै सिर्जना हुने गरेको छ । पार्टीभित्रका विभाग र समिति गठन प्रकृया सुरु भएसँगै कांग्रेसभित्रको कलह समाप्त हुने विश्वास गरिए पनि अहिलेसम्म हुन सकेको छैन ।
पार्टीभित्रका विभाग प्रमुख र समितिमा गुटगत स्वार्थलाई हावी बनाइन खोज्दा समस्या देखिएको छ ।
सभापति शेरबहादुर देउवाले एकलौटी रुपमा आफूपक्षीय नेतालाई मनोनित गर्न खोजेको भन्दै संस्थापन इतरका नेताहरुले बिरोध गरेपछि कांग्रेसमा कलह झन् बढ्दै गएको छ ।
अनुशासन र निर्वाचन समिति गठनमा नेताहरुबीच टकराव छ । वरिष्ठ नेता रामचन्द्र पौडेल निकट नेता नविन्द्रराज जोशीले संस्थापन पक्षले पेलेर जान खोजेको आरोप लगाए । उनले बहुमत अल्पमतको मूल्यांकनमा निर्णय नलिई सहमतिका आधार समितिहरु गठन गर्नुपर्ने बताए ।
सभापति देउवा निकट नेता एनपी साउदले भने महाधिवेशन भएको तीन वर्ष हुन लाग्दासमेत पौडेल पक्षले अनुशासन समिति गठनमा नाम नदिएर अड्काएको आरोप लगाए ।
सहमतिबाट अगाडि बढ्न खोज्दा प्रक्रिया र प्रक्रियाबाट अगाडि बढ्न खोज्दा सहमतिको कुरा गरेर सभापतिलाई निर्णयमा पुग्न नदिइएको उनको भनाइ थियो ।
अनुशासन र निर्वाचन समिति पार्टीका न्यायिक समिति भएकाले दुवैपक्षीय नेताले आफू हाबी हुने दाउ खोज्दा कांग्रेसमा सहमति नभई बिमति बढेको हो ।
यसको असर कांग्रेसलाई संसद्मा समेत परेको छ । आन्तरिक द्वन्द्वमा फस्दा संसद्मा प्रतिपक्षीको भूमिकालाई प्रभावकारी निर्वाह गर्न नसकेको आरोपसमेत कांग्रेसले खेप्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्