
अप्ठेरो सडकमा गाडीको ट्याङ्की फुटेको भन्दै खुल्ला ग्यालेनमा भरिएको डिजेलबाट पाइप जोडेर गाडी चलाउने गरिएको छ ।
जाजरकोट–डोल्पा सडकखण्डअन्तर्गत जिल्लाको त्रिवेणी नलगाड नगरपालिकाको खगेनकोट बगरादेखि भगवती तल्लुसम्मको सडकमा यसरी गाडी चलाउने गरिएको छ ।
बीस किलोमिटर दूरीमा चलाइने अधिकांश गाडीमा इन्धन ग्यालेनमा पाइप हालेर गाडी चलाउने गरिएको मात्र छैन, पूरै सिसा फुटेका गाडी पनि असुरक्षित ढङ्गले चलाउने गरिएको छ ।
स्थानीय प्रशासनको लापरबाहीका कारण खुलेआम रुपमा यात्रु बस्ने सिटनजिकै राखिएका खुल्ला ग्यालेन राख्ने गरिएको छ ।
गाडीमा तेल भरिएका ग्यालेन खुल्ला राख्नु आफूहरूको रहर नभई बाध्यता भएको बताउँछन् यातायात व्यवसायी ।
उक्त सडकमा साना गाडी चलाइरहेका जिप चालक खिमबहादुर मल्लले अप्ठेरो सडकमा गाडीको ट्याङ्की फुटेपछि ग्यालेनमा तेल राखेर गाडी चलाउनु परेको बताए ।
आगो लाग्ने जोखिम भए पनि आफूहरूले सुरक्षित रुपमा गाडी चलाउने गरेको उनको भनाइ छ ।
गाडीमा खुल्ला रुपमा तेल राखेर गाडी चलाउँदा दुर्घटनाको जोखिम अत्यधिक भएको रग्दाका रामबहादुर ध्यारले बताए ।
गाडीमा खुल्ला ग्यालेनबाट तेल आपूर्ति गरेर गाडी चलाउँदा आगलागी हुने मात्र नभई अप्ठेरो बाटोमा दुर्घटनाको जोखिम पनि निकै रहन्छ ।
जति जोखिमपूर्ण ढङ्गले चलाए पनि प्रहरी र अन्य निकायले कुनै वास्ता नगर्ने गरेको स्थानीय यात्रुको गुनासो छ ।
“एक त पहाडको बाटो निकै अप्ठेरो, त्यही पनि व्यवसायीले खुल्ला ग्यालेनमा तेल राखेर गाडी चलाउँछन्, यात्रा गर्न निकै डर लाग्यो,” उक्त सडकमा यात्रा गरेर खलङ्गा फर्किएकी खलङ्गाकी स्थानीय सुधा हमालले बताए ।
प्रजिअ कृष्णचन्द्र पौडेलले यसबारे प्रहरीलाई आवश्यक निर्देशन दिइसकिएको बताए। उनले जोखिमपूर्ण ढङ्गले गाडी चलाउन तत्काल बन्द गर्न प्रहरी परिचालन गरिएको पनि बताए। रासस
प्रतिक्रिया दिनुहोस्