२३ जेष्ठ २०८०, मंगलबार | Tue Jun 6 2023


भन्सार कार्यालयको बदमासी, मिति सच्याएर पुराना गाडी लिलामी (भिडियो)


0
Shares

विराज रोस्यारा

कैलाली, फागुन १५ । भन्सार कार्यालय कैलालीले चार पांग्रे साना सवारी साधन लिलामीका लागि सूचना सार्वजनिक गर्दा प्राविधिक समितिले बदमासी गरेको खुलासा भएको छ । लिलामीमा राखिएका सवारी साधनको निर्माण मिति फेरबदल गरी सूचना सार्वजनिक गरेको फेला परेको हो ।

भन्सार कार्यालयले माघ १८ गते जारी गरेको सूचनाअनुसार लिलाम बिक्री गर्न लागिएका होण्डा सिटी कार, महिन्द्रा बोलेरो जिप, मारुती सुजुकी कार, टाटा सेन्ट्रो कार र हुण्डाई कारमध्ये बोलेरो जीपबाहेक सबैको निर्माण मितिमा हेरफेर गरिएको छ ।

१० वर्षभन्दा पुराना गाडीले प्रदूषण बढाउने भएकाले कवाडी मूल्यमा मात्रै बिक्री गर्न पाइने प्रावधान छ । तर गाडिको इन्जिनमा रहेको सूचना अनुसार सन् २००७ मा निर्माण भएको होण्डा सिटी कारलाई सन् २०१४ मा बनेको भन्दै सूचना निकालिएको छ ।

यस्तै २००६ मा बनेको मारुत सुजुकीलाई २०१२ मा बनेको, २००८ मा बनेको टाटा सेन्ट्रो कारलाई २०११ मा बनेको र २००८ मै बनेको हुण्डाई कारलाई २०१० मा बनेको देखाइएको छ । निर्माण भएको वास्तविक मितिमा लिलाम विक्री गर्न नपाइने भएपछि मिति परिवर्तन गरिएको टेन्डरमा निवदेन दिएका छत्र शाहीको आरोप छ ।

उता, कैलाली जिल्ला भन्सार कार्यालयका निमित्त प्रमुख भन्सार अधिकृत कुमार गौतमले यातायात ब्यवस्था कार्यालयमा मेकानिकल इन्जिनियर नभएपछि सडक विभागको हेभी इक्विपमेन्ट कार्यालय गोदावरीबाट मेकानिकल इन्जिनियर बोलाएर प्राविधिक मुल्यांकन गरिएको बताए । प्रमुख भन्सार अधिकृत बिदामा रहेकाले कार्यालयमा हाजिर हुनेबित्तिकै यसलाई पुनर्विचार गर्ने उनले बताए ।

भिडियो हेर्नुहोस्