Logo १८ बैशाख २०८३, शुक्रबार | Sat May 2 2026


‘बोआओ फोरम फर एशिया’ सम्मेलनमा प्रधानमन्त्रीले के भने ?


0
Shares

बोआओ मञ्चको उद्घाटन समारोहमा प्रधानमन्त्री दाहालले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई आह्वान गरे ।

जलविद्युत, पूर्वाधार विकास एवं पर्यटनलगायतका क्षेत्रमा लगानीका लागि एशियाली व्यापारिक समुदायलाई उनले आह्वान गरे ।

उनले नेपाल संविधान कार्यान्वयन गर्दै विकासको बाटोमा लम्कन चाहिरहेको भन्दै यसका लागि मित्रराष्ट्रहरुको सहयोग आवश्यक परेको बताए ।

राजनीतिक कोषेढुंगो पार गरेको नेपालका अगाडी आर्थिक परिवर्तनको मात्र एजेण्डा रहेको उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले ग्लोबलाइजेसनमा समावेशिता मिसाएर एशियाली मोडल बनाउनुपर्ने प्रस्तावसमेत गरे ।

ग्लोबलाइनजेसन र स्वतन्त्र व्यापारः एशियाली दृष्टिकोण मूलनारा रहेको बोआओ फोरममा उनले विश्वव्यापीकरणले विश्वमा आर्थिक समृद्धि ल्याएपनि धेरै मानिस यस समृद्धिबाट छुटेकाले यसलाई सच्याउँदै समावेशीकरण गर्नुपर्ने बताएका हुन् ।

बिहीबार चीनको हेनान प्रान्तको बोआओ शहर गएका प्रधानमन्त्री दाहाल आजै बोआओबाट बेइजिङ जानेछन् ।

बेइजिङमा प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नेछन् ।

उनले त्यहाँ चिनियाँ व्यापारीसँग छलफल गर्नाका साथै विश्वविद्यालयको परिसरमा स्थापना हुने नेपाल अध्ययन केन्द्रको उद्घाटन गर्ने कार्यक्रम छ ।

यसअघि शुक्रबार प्रधानमन्त्रीले चिनियाँ उपप्रधानमन्त्री झाङ गाओलीसँग भेट गर्दै चीनले अघि सारेको वान बेल्ट, वान रोड अवधारणामा नेपालले सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।

उनले नेपाल एक चीन नीतिप्रति सधै समर्थनमा रहेको र नेपाली भूमिबाट चीनविरुद्ध कुनै गतिविधि हुन नदिने विश्वास दिलाएका थिए ।