२१ जेष्ठ २०८०, आइतबार | Sun Jun 4 2023


नेपाल–चीन सम्बन्धमा अनावश्यक चासो नराख्न अमेरिकालाई चिनियाँ राजदूतको सुझाव


0
Shares

काठमाडौं, फागुन १४ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोशौं टाढाको अमेरिकाले नेपाल–चीनबीचको सम्बन्धबारे नकारात्मक टिप्पणी गर्नु उचित नभएको बताएकी छन् ।

मंगलबारदेखि ललितपुरमा सुरु भएको ‘बेल्ट एन्ड रोड इनिसियटिभ’ अन्तर्राष्ट्रिय सम्मेलनकाक्रममा उनले नेपाल–चीन सम्बन्धलाई लिएर अमेरिकी उपसहायक रक्षामन्त्रीले गरेको टिप्पणीको जवाफ दिएकी हुन् ।

अमेरिकी उपसहायक रक्षामन्त्री जोसेफ एच फेल्टरले सोमबार रक्षामन्त्री ईश्वर पोखरेलसँगको भेटमा ‘चीनले नेपालमा गरेको लगानी नेपालीको हितमा हुनुपर्ने’ उल्लेख गरेका थिए ।

त्यसैको जवाफमा चिनियाँ राजदूतल होउले ‘हिमाल र नदीनालाले जोडिएका नेपाल–चीनजस्ता छिमेकी मुलुकका विषयमा कोशौं टाढाको देशले टिप्पणी गर्नु आवश्यक छैन’–भनिन् ।

चीनले आफ्नो स्वार्थ हेरेरभन्दा नेपाल सरकारले प्रस्तुत् गरेका विकास आयोजनाहरुमामात्र काम गर्ने गरेको पनि राजदूत होउले प्रस्ट्याइन् ।

दक्षिण एसियाली मुलुकहरुको अवस्थाकाबारेमा आफू जानकार रहेको भन्दै उनले भर्खर विकासको चरणमा रहेका यी देशहरुलाई ठूला मुलुकबाट ठूला आयोजनाको आवश्यकता रहेको उल्लेख गरिन् ।

अमेरिकाले यी देश र छिमेकीबारे टिप्पणी गर्नुभन्दा सहयोग बढाउनु राम्रो हुने उनको सुझाव थियो ।